शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घटनास्थलमा बिलौना गर्दै पूर्वगृहमन्त्री घिमिरेका आफन्त

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • चितवन   ।  कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।

    आइतबार साँझ अबेर उनी चढेको गाडी त्रिशूली नदीमा खसेर उनीहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए ।

    चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उनको खोजीका लागि सहयोग गरिरहेका छन् ।

    सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहेकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री हुन् । दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा गएका थिए ।

    आचार्यले भने, “बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ । गाडीमा माधवप्रसाद घिमिरे, उनका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा रहेका थिए ।” असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भने, “ असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो ।” उनले अगाडि भने “ असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उनीहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बसे । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गरेका थिए । आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।

    असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उनीहरु हिँडेका हुन् ।

    घटनास्थलमा आइपुगेका रानाभाटले भने, “हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उनीहरु पोखराबाट हिँड्नुभएको हो ।” उनीहरुले दिउँसो विमलनगरमा चियाखाजा खाएको समेत रानाभाटले बताए । दिउँसो २ः३० बजे फोन गर्दा उनीहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपना जस्तो लागेको बताए ।

    घटनास्थलमा निकै दुखित देखिएका यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उनीहरुसँगै थिए । आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुन् । “साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,” उनले भने । उनका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्छन् । अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी हुन् ।

    त्यस्तै, काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्छन् । उनी नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताए । अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुन् । उनको बसाइ कात्यायनी, बानेश्वरमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुन् ।

    आचार्यका अनुसार पूर्वगृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा छन्भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै छन् । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छिन् ।

    घटनास्थलमै भेटिएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गरे ।

    पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उनीहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताएका थिए । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिएका थिए । त्यसलगत्तै उनले प्रधानमन्त्रीलाई फोन समेत गरेका थिए ।

    घटनास्थलमा उनको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ । घटनास्थलमा उनको झोला र मोबाइल फेला परेको छ । घिमिरेका तीनभाइ नदीमा बेपत्ता छन् भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij