प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
म्याग्दी । म्याग्दीमा बिदेशी पर्यटकको चहलपहल बढेको छ । पदयात्रा, हिमाल आरोहण र शिकार खेल्न आएका पर्यटकको चहलपहल बढेको हो ।
अन्नपूर्ण, अन्नपूर्ण–धौलागिरी, धौलागिरी चक्रिय पदमार्ग, सिंगा र भुरुङ तातोपानी कुण्ड, धौलागिरी, अन्नपूर्ण हिमाल आरोहण र बागलुङ, म्याग्द र रुकुममा फैलीएको ढोरपाटन शिकार आरक्षमा असोज महिनाको सुरुवातसंगै पर्यटक आगमन बढेको जनाइएको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत घार गाविस गाविस १ मा पर्ने घोडेपानी र पुनहिलमा दैनिक एक सय देखि डेढ सय जना पर्यटक भ्रमणमा आउने गरेका छन् । मौसममा सुधार भएसंगै पर्यटकको आगमन बढेको घोडेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुनले बताए ।
बिदेशीसंगै विभिन्न संघ संस्था, विद्यालय, कलेज र समूहबाट भ्रमणमा आउने आन्तरीक पर्यटक पनि बढेका छन् । दसै तिहारको छुट्टीको समयमा सहरी क्षेत्रबाट नेपालीहरु पदयात्रामा आउने गर्छन् ।
देशको अवस्था शान्तीपूर्ण भएको र यस वर्ष प्राकृतिक विपद्ले पर्यटकीय स्थलहरुमा असर नगरेकाले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढ्ने म्याग्दीको पुनहिलमा पर्यटक घुमाउन आएका पथप्रर्दशक प्रकाश ढुङगानाले बताए ।
२०७३ को बैशाखदेखि भदौसम्म नौ हजार जनाले भ्रमण गरेको घोडेपानीमा असोज महिनाको दश दिनमा दुई हजार जनाले भ्रमण गरेका छन् । असोज महिनामा घोडेपानी भित्र्ने र बाहीरिने पर्यटकको संख्या दैनिक एक सय ५० जना रहेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शुशिल लामीछानेले बताए ।
भुरुङ तातोपानीमा बिदेशी पर्यटक र प्राकृतिक सिंगा तातोपानीमा बिरामीहरु आउने क्रम बढेको व्यवस्थापन समितिहरुले जनाएका छन् । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहणका लागि आएका पर्यटकहरुको आधार शिवीर क्षेत्रमा चहलपहल बढेको छ ।
दरवाङ ताकम हुदै नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा शिकारका लागि पर्यटक जाने क्रम सुरु भएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गको नांगी, मोहरे, बाँसखर्क, टिकोट क्षेत्रमा पनि पर्यटक आगमन सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा दुईवर्ष अघिसम्म वार्षिक तिस हजार जनाको अनुपातमा बिदेशी पर्यटकले भ्रमण गरेका थिए । प्रतिकुल मौसम, भुकम्प र नाकाबन्दीका कारण २०७१ र ७२ मा पर्यटक आगमन घटेको थियो ।
म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङखला, सुर्योदय, झरना, गल्छी, ग्रामिण जनजिवन र विभिन्न जातजातीको संस्कृतीको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र बैशाख महिना पर्यटक याम मानिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij