प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५
पोखरा, ८ असार (रासस) । पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ ।
सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको रु ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।
तीन वर्षेको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याबिन भर्ने, पानी कटाउनको लागि हेमपाइप बिछ्याउने, नाला निर्माण कार्य भइरहेको फुस्रेखोला, रामदी मट्टीखान देउराली बाटो उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो ।
२०५७ सालमा ट्रयाक खोलिएको उक्त हुलाकी मार्ग स्थानीय तह र जनश्रमदान परिचालन गरी २०६५ सालमा स्तरोन्नति गरिएको जानकारी दिँदै उहाँले बजेट समयमा निकासी हुन नसक्दा काममा ढिलाइ भएको दुखेसो पोख्नुभयो ।
उहाँका अनुसार सिद्धार्थ राजमार्गको विकल्पका रुपमा लिइएको सो बाटो स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका हुँदै गुडीखोला राङकोसमा राजमार्गसंग जोडिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij