प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
काठमाडौं । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले दशै अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन् ।
तीन सुत्रिय सहमति र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको प्रतिबद्धता अनुसार दशै अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन् ।
‘सहमति अनुसार दशैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगरेर सरकारले धोका दिएको छ’– बुधबार काठमाडौंस्थित आफ्नै निवासमा संचारकर्मीहरुसँग कुरा गर्दै फोरम नेपालकी नेता यादवले भनिन्,– ‘संविधान संशोधनका लागि हामीले प्रचण्डमाथि विश्वास गरेर समर्थन गरेका थियौं तर, अनेक बहानामा भुलाएर उनले धोका दिने हो भने परिणाम ठीक हुन्न ।’
प्रधानमन्त्री निर्वाचनमा समर्थन लिने तर सहमति अनुसार संशोधन प्रक्रिया अगाडि नबढाउनु कांग्रेस र माओवादी केन्द्रले धोका दिन खोजेको यादवको आरोप छ ।
संघीय गठबन्धन र सरकारबीच तीन बुँदे सहमति भएको दुई महिना भइसक्दा पनि संशोधन प्रस्ताव दर्ता नहुनु गम्भीर षड्यन्त्र भएको उनले आशंका व्यक्त गरिन् ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले संशोधनमा सहमति जुटाउनकै लागि अमेरिका भ्रमण रद्द गरी दशै अघिनै संशोधन प्रस्ताव संसदमा लैजाने आश्वासन दिएका थिए । तर, प्रचण्डको प्रतिबद्धता अनुसार सहमति कार्यान्वयन नहुँदा मधेशी मोर्चा र संघीय गठबन्धन असन्तुष्ट बनेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij