प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
काठमाडौ । गतसालको दशैंमा मधेशमा आन्दोलन चलिरहेको बेला मधेशी जनताले दशैं मनाउनमा पाएका थिएनन् । तर यसपाली दशैं धुमधामका साथ मनाउने तयारीमा जुटेका छन्, मधेसी जनता ।
मधेशका विभिन्न जिल्लामा मूर्ति, मन्दीर, पण्डाल बनाएर त्यसलाई सजाउने काम भइरहेका छ। दशैंका लागि मधेशी जनता उत्साहित भइरहेका बेला मधेशी जनतामा भने निराशा देखिन्छ । मधेशी नेताका दावी अनुसार मधेश अझै आन्दोलनमै छन् । आन्दोलन जारी छ भन्छन् मधेशी नेताहरु तर मधेशी जनतालाई त्योसँग मतलब छैन, यसपाली पुरै मन दशैंमय भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सत्ताधारी दलसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन भएपछि स्थिति साम्य होला भनि सोचेका थिए तर अवस्था अनुकुल नभएर झन प्रतिकुल हुँदै गएको छ ।
तीन बुँदे सम्झौता अनुसार सविधान संशोधन गरेर मधेशवादी दलले उठाउँदै आएको माग पूरा गरी देशलाई सविधान कार्यान्वयनको अवस्थामा लैजाने थियो तर अझै सविधान संशोधन प्रस्ताव तयार नभएर मधेशवादी दलका नेताहरु तनावमा देखिन्छ ।
मधेशी मोर्चाका लागि यसपालीको दशैं खल्लो हुने भएको छ । मधेशी मोर्चाका नेताहरु भन्छन्, यसपालीको दशैं तीन बुँदे सम्झौता कार्यान्वयनमा बित्नेछ ।’ यसैपनि हाम्रोतिर त्यसरी दशैं मनाइँदैन, एक दिन मेला लागेपछि दशैं सम्पन्न हुन्छ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, दशैं पनि राजनीतिक गतिविधि नै बित्नेभयो ।’
सविधान संशोधन नगरिकन मधेशको समस्या समाधान नहुने भएकाले तिहारअघि सविधान संशोधनको प्रस्ताव संसदमा कसरी लग्ने त्यस विषयमा दलका नेताहरुसँग छलफल गर्ने उनले बताए ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव दशैंमा मधेशमै बसेर आन्दोलनको तयारी गर्ने बताए । सत्ताधारी दलले तीन बुँदे सम्झौता कार्यान्वयन गर्नमा आलटाल गरिरहेकाले समस्या समाधान हुने नदेखेपछि आन्दोलनको तयारीमा जुट्नुपर्ने भएको उनले बताए । दशैंलाई आन्दोलनको तयारीको रुपमा उपयोग गर्ने बताउँदै अध्यक्ष यादवले दशैं विदामा सबै जना आआफ्नो घर फर्केको कारणले जनता भेट्न पनि सजिलो भएकाले आन्दोनलको तयारी गर्न सजिलो हुने बताए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी पनि दशैं अवधिभर मधेशमै बस्ने सोच बनाएका छन् । ‘दशैंको बेला सबै फुर्सदमा हुने र त्यसबेला कार्यकर्तासँग भेटघाट गरी कुनै कार्यक्रम गर्न सजिलो भएको हुनाले दशै अवधि मधेशमै बस्ने उनले बताए । नवमी र दशमीमा एक पटक टिकाका लागि काठमाडौं फर्किने र त्यसको भोलीपल्ट पुनः मधेश नै फर्किने अध्यक्ष भण्डारीको योजना छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दशैंमा काठमाडौमै बस्ने योजना रहेको बताए । दशैंको विदा सदुपयोग गरि राजनीतिक गतिविधिमा लाग्ने बताउँदै सविधान संशोधनको प्रस्तावमा सत्ताधारी दलसँग कुराकानी गर्ने र त्यसको माहोल बनाउने बताए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पनि दशैं मधेशमै मनाउने भएका छन् । साँझ विहान दुर्गा भगवतीको पाठ गर्ने र दिनभरि पार्टीको गतिविधिमा लागेर दशैं मनाउने अध्यक्ष झाले बताए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको दशै भने युरोपै बित्ने छ । कार्यक्रमका लागि एकसाताअघि युरोप गएका अध्यक्ष यादव दशैंअवधिभर उतै बस्ने उनका प्रेस सहयोगी महेश चौरसियाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij