शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सडक सञ्जालमा जोडिँदै छ हुम्ला

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • हुम्ला । हुम्ला जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन नसक्दा यहाँको बासिन्दाले ‘विकास’ को अनुभव गर्न नपाएको बताएका छन् । सडक सञ्जाल नजोडिँदा यहाँको उत्पादनले बजार नपाएको र आयत गर्नुपर्ने वस्तुहरु पनि महँगो पर्ने उनीहरुको गुनासो छ । तैपनि जिल्लाभित्रै खनिएका ‘हाइवे’मा भने गाडीहरु मज्जाले गुडिरहेका छन् ।

    अधिकांश हुम्लीवासीले सरकारले सडक बनाउन ‘विशेष’ बजेटको व्यवस्था गर्न माग गरेका छन् । सदरमुकाम सिमिकोटमा होटल व्यवसाय गर्दै आएका रिन्जिन लामाका अनुसार सडक नजोडिँदा हुम्लीले ३ सय प्रतिशतसम्म महँगी खेप्नु परेको छ । उनी भन्छन्, ‘अधिकांश सामान कि चीनबाट ल्याउनुपर्छ कि नेपालगन्ज र सुर्खेतबाट जहाजमा ल्याउनु पर्छ । यसरी ल्याउँदा महँगो पर्न जान्छ।’

    लामाका अनुसार नेपालगन्जमा १ हजार रुपैयाँ पर्ने सिमेन्ट सिमिकोट आइपुग्दा ६ हजार रुपैयाँ पर्न जान्छ । उनले भने, ‘सिमेन्ट मात्रै होइन हरेक सामान यही अनुपातमा महँगो हुन्छ ।’ उनले नुनचाहिँ सरकारले अनुदान दिएकोले मात्रै सस्तो पाइने बताए ।

    राष्ट्रिय सडक सञ्जालसँग नजोडिएपनि हुम्लामा सडक खन्ने काम भने भइरहेको छ । चीनको सीमा हिल्सा, लाप्च्या नाकाबाट सिमिकोटतर्फ धमाधम सडक निर्माणको काम भइरहेको छ । यसैगरी सिमिकोटबाट पनि आसपासका गाविसमा सडक खन्ने काम भइरहेको छ ।

    छिमेकी जिल्ला जुम्ला, बाजुरा र मुगुबाट पनि हुम्लातर्फ सडक जोडिँदै छ ।

    जिल्ला विकास कार्यालय हुम्लाको अनुसार चारतिरबाट हुम्लालाई सडक सञ्जालसँग जोडिँदै छ । सडक जोडिएपछि यहाँका बासिन्दालाई केही सहज हुने स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशी बताउँछन् । उनका अनुसार हुम्ला जिल्ला भित्र मात्रै करिव २ सय किलोमिटर सडक निर्माण भएको छ । जसअनुसार हिल्सा-सिमिकोट ७० किलोमिटर, सरीसल्ला-दार्मा १४.४ किोमिटर, गालफागड-श्रीनगर १२.१ किलोमिटर, खर्पुनाथ-सिमिकोट ४ किलोमिटर, कालिकोट-बाजुर हुँदै हुम्ला र ल्याप्चा-सिमिकोट सडक निर्माण भइरहेको छ ।

    यो बाहेक हरेक गाविसले आफ्नो तहमा सडक बनाइरहेको पनि स्थानीय विकास अधिकारी जोशीले जानकारी दिए ।

    जोशीले आगामी तीन वर्ष भित्र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने बताए । उनले अधिकांश ठाउँमा चट्टान भएकोले खन्न अप्ठ्यारो भएको बताए । उनले भने, ‘हुम्लाको भौगोलिक बनावटले नै सडक निर्माणमा गाह्रो भएको छ। जताततै चट्टानैचट्टान भएको र उक्त चट्टान फोड्न गाह्रो भएकोले डिलो भइहरेको छ ।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij