प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३
काठमाडौं । सरकारले भूकम्प प्रभावितलाई घर बनाउन दिने राहत प्रक्रियामा संशोधनसहित केही नयाँ व्यवस्था थपघट गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले नयाँ बिधि प्रक्रियाबाट राहत बितरणको गृहकार्य थाल्ने निर्णय गरेको हो ।
प्राधिकरणले कार्यकारी समितका विज्ञ समूहलाई नयाँ मापदण्डका लागि विषयगत जिम्मेवारी समेत तोकेको छ । उनीहरुले राहत वितरणको नयाँ मापदण्डबारे मस्यौदा कार्यविधी तयार पार्ने जिम्मा समेत पाएका छन् ।
यस्ता छन् नयाँ मापदण्ड :
प्राधिकरणको शुक्रबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई ३ बर्गमा विभाजन गरी राहत बितरण गर्ने योजना बनाएको छ ।
१) आफैले घर बनाएकालाई पनि ३ लाख अनुदान :
प्राधिकरणले भूकम्पबाट पूर्णरुपमा घर भत्किएपछि आफैले घर बनाउने भूकम्प प्रभावितलाई पनि राहत बितरण गर्ने कार्ययोजना अघि सारेको छ । तर उनीहरुले प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर बनाएको भने हुनुपर्नेछ । गाविस वा नगरपालिकाबाट नक्सा पास गरेको, भूकम्पप्रतिरोधी घर निर्माण गरेको हुनुपर्ने जस्ता मापदण्ड राखिएको छ । इन्जिनियरले घरको अवस्थाको मूल्याङ्कनका आधारमा सरकारले त्यस्ता घरधनीलाई ३ लाख अनुदान दिने व्यवस्था गरेको हो ।
२) घर मर्मत गर्न चाहनेलाई १ लाख अनुदान :
प्राधिकरणले ल्याएको नयाँ कार्ययोजना अनुसार अब आंशिक क्षति भएका तर मर्मत गर्न सकिने अवस्थाका घरका लागि पनि अनुदान दिईने भएको छ ।
कुनै भूकम्प प्रभावितले घर मर्मतका लागि निवेदन दिएमा घरको अवस्था हेरी १ लाख रुपैयाँ सम्म मर्मतका लागि अनुदान दिने व्यवस्था गरिएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । यसअघि पहिलो किस्तामा ५० हजार पाएकाले घर मर्मत गर्छु भनेमा थप ५० हजार दिइने गृहकार्य भएको हो ।
यसका लागि कार्यबिधीको मस्यौदा बनाउने काम भइरहेको छ ।
३) ५० हजार पाएकालाई एकमुष्ट साढेँ २ लाख अनुदान :
प्राधिकरणले यसअघि ३ किस्तामा घर निमार्णका लागि राहत दिने व्यवस्था गरेको कार्यबिधिमा परिमार्जन गरी २ किस्तामा अनुदान दिने व्यवस्था गरेको छ । यसअघि ३ किस्तामा २ लाख अनुदान पाउने व्यबस्था भएपनि नयाँ कार्ययोजना अनुसार २ किस्तामा ३ लाख अनुदान पाउने ब्यवस्था गरिएको प्रवक्ता थपलियाले जानकारी दिए ।
यसअघि पहिलो किस्ताको ५० हजार पाएका भूकम्पप्रभावितले अव एकमुष्ट २ लाख ५० हजार रुपैया पाउने भएका छन् । तर यसका लागि पहिलो किस्ताको रकमबाट प्रभावितहरुले घरको जग भने हालेर घर बनाउने प्रक्रिया भने शूरु गरेको हुनुपर्नेछ ।
२५ हजारको ३ विकल्प : सोलार, ट्वाइलेट वा बायोग्याँस
नयाँ कार्यबिधी अनुसार भूकम्पप्रभावितले ३ लाख अनुदान भित्रबाट २५ हजार रुपैयाँ भने घरसँग सम्बन्धित अन्य क्षेत्रमा खर्च गर्नुपर्नेछ । २५ हजार रुपैयाँबाट सोलार बक्ति वा ट्वाईलेट वा बायोग्याँस (गोबरग्याँस)का लागि खर्च गर्नुपर्नेछ ।
प्रवक्ता थपलियाले भने– “नयाँ बन्दै गरेको कार्यविधी अनुसार अव भूकम्प प्रभावितले २ लाख ७५ हजार घर निमार्णका लागि राहत पाउनेछन् भने २५ हजार ट्वाइलेट, सोलार र बायोग्याँस मध्ये कुन आवश्यकता छ, एउटा विकल्प रोजेर त्यसका लागि खर्च गर्नुपर्नेछ । ”
मस्यौदा कार्यविधी निर्माणका लागि विज्ञ समुहलाई जिम्मा
प्राधिकरणले कार्यकारी समितिमा रहेका विज्ञ टोलीलाई मस्यौदा निमार्णको जिम्मेवारी समेत तोकेको छ ।
प्राधिकरणले ३ लाख अनुदान दिने व्यवस्थाको कार्यबिधि निमार्णका लागि चन्द्र बहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
घर मर्मत संभार र रेट्रोफिटिङ्का लागि अनुदान दिने व्यवस्थाको कार्यविधी निमार्णका लागि हरिराम पराजुलीलाई जिम्मा दिएको छ ।
यस्तै विष्णुबहादुर भण्डारीलाई भूकम्पप्रभावितको जिविकोपार्जनमा सुधार ल्याउन दिइने तालिम तथा अन्य सहयोगबारेको बिधि प्रक्रिया निमार्णको जिम्मा दिएको छ ।
यस्तै आर्थिक स्रोतको व्यवस्थापन बारेको कार्यविधीको मस्यौदा निमार्णको जिम्मेवारी ध्रुवप्रसाद शर्मालाई दिइएको छ ।
राजधानीका भूकम्पप्रभावितलाई दसैँलगतै ५० हजार
सरकारले राजधानीका भूकम्प प्रभावितलाई दशै सकिएलगतैबाट घर निमार्ण अनुदानका लागि पहिलो किस्ताको ५० हजार रुपैंया दिने तयारी थालेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका भूकम्प प्रभावितको सर्वेक्षण सकेर लाभग्राहीको सूची समेत प्रकाशन गर्न सम्बन्धित गाबिस तथा नगरपालिकामा पठाइएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
प्राधिकरणको शुक्रबार बसेको बैठकले राजधानीका भूकम्पप्रभावित लाभग्राहीको नामावली प्रकाशनका निर्देशन दिएको छ ।
राजधानीमा ५४ हजार घरधनीको नाम स्वीकृत गरी सम्बन्धित नगरपालिका तथा वडा कार्यालयमा नामावली विवरण पठाइएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij