प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
काठमाडौँ । पूर्व राजदूत एवम् लेखक हिरण्यलाल श्रेष्ठले लेख्नुभएको ‘शान्ति सेना र विदेशी सेनाहरुमा नेपाली गोर्खाली’ नामक कृति बजारमा आएको छ ।
रत्न श्रेष्ठ पुरस्कार गुठी बाग्लुङले प्रकाशन गरेको सो कृतिमा छ अध्याय छ । परिशिष्टमा गोर्खा भर्तीबारे त्रिपक्षीय सम्झौता, १९४७ र परराष्ट्र तथा मानव अधिकार समितिको प्रतिवेदन, २०५५ सम्बन्धी जानकारी समेत समावेश गरिएको छ । तिनमा शान्ति सेना र विदेशी सेनामा नेपाली, विगतमा विदेशी सेनामा नेपाली, वर्तमान विदेशी सेनामा नेपाली, निजी सुरक्षा गार्ड सेवा, भूपू गोर्खाको समानता र सम्मानको आन्दोलन तथा शान्तिसेनामा नेपाली भन्ने शीर्षकमा विश्वमा पुगेका नेपाली सेनाको अवस्थाको चित्रण गरिएको छ ।
शान्ति सेना र विदेशी सेनामा नेपाली शीर्षकअन्तर्गत शिख सेनामा गोर्खाली, ब्रिटिस–भारतमा गोर्खा भर्ती, चीनमा गोर्खाली सुरक्षाकर्मी, मलेसियाको स्पेसल पुलिसमा गोर्खाली महिला, सिक्किमको सुरक्षामा गोर्खाली र आजाद हिन्द फौजमा गोर्खालीका बारेमा लेखिएको छ ।
अधिकांश मुलुकमा नेपालीलाई सेवासुविधा उपलब्ध गराउने विषयमा विभेद नरहेको तथा ब्रिटिस गोर्खामा भने धेरै ठूलो विभेद गरिएको प्रसङ्ग कृतिमा छ । भूपू गोर्खाको समानता र सम्मानको आन्दोलनले ठूलो समस्या ल्याएको र सो विषय बेलायती अदालतमा पुग्दा समेत नेपालको प्रस्ट धारणा आउन नसकेको कुरा त्यसमा पाइन्छ ।
कृतिमा गोर्खा सैनिकमाथि भएको असमान व्यवहारबारे नेपाल तथा बेलायती सरकारको लाचारीपनालाई महत्वका साथ उठाइएको छ । विदेशी सेनामा गोर्खालीहरु सम्मानजनक उपस्थित भए पनि नेपालीको जवानी अर्काको स्वार्थमा उपयोग भएकामा चिन्ता व्यक्त गरिएको छ ।
त्यसैगरी ‘शान्ति सेनामा नेपाली’ नामक शीर्षकमा नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेपछि सन् १९५८ देखि राष्ट्र सङ्घको आग्रहमा विश्वका तनावग्रस्त तथा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेना पठाउन थालिएको विषय छ ।
नेपाली सेनाको कार्यकुशलता तथा इमान्दारीले शान्ति सेनामा सैनिकहरु अग्रणी स्थानमा छन् । राष्ट्र सङ्घमा शान्ति सेनाले विभिन्न भूमिका निर्वाह गरी विश्वमा नेपाली सेनाले पाएको लोकप्रियताको प्रसङ्ग समेत कृतिमा पाइन्छ । नेपाली सेनाले सान् १९८६ मा शान्ति स्थापनाको प्रशिक्षण केन्द्रका रुपमा काभ्रेपलाञ्चोक, पाँचखालमा स्थापित केन्द्रलाई सन् २००१ मा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका रुपमा विकास गरी अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालन गरेको विषय समेत कृतिमा छ ।
विसं १९९८ मा मकवानपुरमा जन्मनुभएका पत्रकार श्रेष्ठका यसअघि नेपाली, नेपाल भाषा र अ¬ङ्ग्रेजी भाषामा गरी करिब तीन दर्जन पुस्तक प्रकाशित छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij