प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्स म्यान हुन् । गाडी चलाउने सोख उनको सानैदेखिको हो ।
उनको सोखले ४ महिनायता सवारीधनी तथा प्रहरीले निकै दु:ख पाए । भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्यो ।
साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि दिनहुँ प्रहरीमा उजुरी पर्न थाल्यो । जिविस, जिल्ला प्रशासन, अदालत तथा प्रहरी कार्यालय परिसरकै पार्किङस्थलबाट सवारीसाधन हराउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो ।
गत असारयता मात्र १० सवारीसाधन पार्किङस्थलमा नभएको उजुरी परेपछि खोजी गर्दा बा२च ९०६६ नम्बरको पजेरो दरबार स्क्वायर क्षेत्रबाट चलाएर अन्यत्र लैजान लागेको अवस्थामा श्रेष्ठ पक्राउ परेको भक्तपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश विष्टले बताए ।
निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको सवारीसाधन पार्किङस्थलबाटै चलाएर अन्यत्रै लगी छाड्दा सम्बन्धित सवारीधनीले हैरानी खेप्नुपरेको थियो । श्रेष्ठको गाडी चलाउने सोख आश्चर्यजनक रहेको प्रहरीले जनाएको छ ।
‘गाडी चलाउने सोखले पार्किङमा राखिएको अर्काको सवारीसाधन रातभर चलाएर इच्छा पूरा गर्ने उसको आदतै रहेछ,’ इन्स्पेक्टर विष्टले भने, ‘चोरी गरी बिक्री गर्ने उद्देश्य नभई सोख पूरा गर्ने इच्छा रहेछ ।’
विभिन्न स्थानमा पार्किङ गर्दा सवारीधनीले बिर्सिएर गाडीमै छाडेको साँचो संकलन गरी अर्को गाडीमा मिलाएर चलाउने गरेको अनुसन्धानबाट खुलेको विष्टले बताए ।
गाडी चोरी गर्ने, बिगार्ने, बिक्री गर्नेजस्ता आपराधिक सोच नभएको र चलाउने सोखकै कारण पार्किङमा राखिएका सवारीसाधनमा नक्कली साँचो मिलाएर चलाएको श्रेष्ठले बताए ।
‘मेरो बुबा पहिले सार्वजनिक गाडी चलाउनुहुन्थ्यो,’ उनले भने, ‘बुबाको पेसाबाट प्रभावित भएर इच्छापूर्तिका लागि रातभर सवारी हाँकेको हुँ ।’
पार्किङ स्थलबाट सवारीसाधन अन्यत्र लगेपछि सोही स्थानमा पुर्याउँदा कारवाहीमा परिने डरले अन्यत्रै छोडेको समेत उनी बताउँछन् । एम्बुलेन्स, शववाहनजस्ता साधनको दुरुपयोग हुँदा बिरामी तथा पीडितलाई दु:ख हुने बुझेको भए पनि एम्बुलेन्स, शव बाहनमा चेकिङ नहुने र सोख पनि पूरा हुने स्वार्थले जित्दा प्रहरीको फन्दामा परेको उनले स्वीकारे । आइन्दा अर्काको सवारीसाधन दुरुपयोग नगर्नेसमेत उनले बताए ।
प्रहरीले भने श्रेष्ठलाई सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij