प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
काठमाडौँ । सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुन:संरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुन:संरचनाका आधारमा परिमार्जन गर्दै संख्या बढाउन लागेको हो , कान्तिपुर दैनिकमा खबर छ ।
आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ । अन्तिम निर्णय गर्न बाँकी रहेकाले संख्या सामान्य थपघट हुने सम्भावना छ । आयोगले यसअघि ५ सय ६५ वटा स्थानीय तहको संख्या निर्धारण गरेर काम थालेको थियो ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीचको सहमतिपछि सरकारले इलाकालाई मुख्य आधार मानेर पुन:संरचना गर्न आयोगलाई नयाँ मापदण्ड दिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख एवं आयोगका सदस्य सचिव हरि पौडेलले सरकारले तोकेको नयाँ मापदण्डअनुसार कसरी बढ्नेबारे छलफल भइरहेको बताए । ‘नयाँ आधार तय गरेर स्थानीय तहको सम्भावित संख्या निकाल्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘काम छिटो होस् भनेर मन्त्रालय र आयोग बिदालगत्तै सक्रिय भएका छन् ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij