शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दरबारले बुझाएका दस्ताबेज गायब ?

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • काठमाडौ । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायब भएका छन् ।
    आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरू कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ र जिम्मेवार अधिकृतहरूले बताएका छन् । ती दस्ताबेज केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्डसमेत छैन ।
    तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेज राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो ।
    तर ती दस्ताबेज अहिले कहाँ छन् भन्ने कसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुईवटा कोठामा ताला लगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्ड मन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन् भने कतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् । गृह र सामान्य प्रशासन मन्त्रालयमा अहिले दरबारका कुनै दस्ताबेज छैनन् ।
    तत्कालीन राजाहरूले स्वदेश र विदेशमा गरेका विभिन्न भेटघाटका डकुमेन्टेसन गर्ने चलन थियो । ती सबै डकुमेन्टहरू तत्कालीन राजदरबार संवाद सचिवालयले नेपाल सरकारलाई बुझाएको थियो । ‘हामीले राजसंस्थासँग भएका सबै दस्ताबेज नेपाल सरकारलाई लिखत गरेर बुझाएका थियौं’, तत्कालीन राजदरबार संवाद सचिवालयका सहसचिव तथा वर्तमान सरकारका सचिव शरदराज बिष्टले भने, ‘तत्कालीन राजसंस्थाले विभिन्न मुलुकसँग गरेका सन्धिसम्झौतादेखि दरबारले विभिन्न समयमा गरेका निर्णय, निर्देशनसहित कार्यालयमा रहेका कम्प्युटर र ल्यापटपसमेत नेपाल सरकारलाई बुझाएका थियौं तर त्यो अहिले कहाँ कुन अवस्थामा छ, कुनै पत्तो छैन ।’
    त्यतिबेला दरबारका ती दस्ताबेज सरकारले ट्रकमा हालेर नारायणहिटीबाट बाहिर निकालेको थियो । तर ती कहाँ लगेर बिसाइयो भन्ने विषयमा सरकार बेखबर छ । ‘दस्ताबेजलगायत त्यससँग सम्बन्धित डकुमेन्टहरू अहिले परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा भएको भवनभरि थिए’, बिष्टले भने ।
    त्यतिबेला संवाद सचिवालयमा रहेका अर्का एक अधिकारीका अनुसार कुनै निकाय समाप्त भए पनि त्यसको इतिहास मेटाउनु हुँदैन भनेर कर्मचारीहरूले नारायणहिटीमै संग्रहालय बनाएर ती सबै दस्ताबेजको सुरक्षा गर्न तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई आग्रह गरेका थिए । तर उनीहरूको त्यो झिनो आशासहितको आग्रह सिटौलाले सुनेनन् । सबै डकुमेन्ट ट्रकमा हालेर नारायणहिटी खाली गराए । ‘पृथ्वीनारायण शाहको पालादेखिका दस्ताबेजहरू थिए’, ती अधिकारीले भने, ‘तर अहिले ती महत्वपूर्ण दस्ताबेज सरकारको लापर्बाहीका कारण गायब भएका छन् ।’
    नारायणहिटीबाट सबैभन्दा बढी दस्ताबेज बुझेको परराष्ट्र मन्त्रालयले भने ती दस्ताबेजबारे बताउन चाहेन । ‘त्यतिबेला जुन अवस्थामा बुझाइयो, हाम्रो साँचोभित्र छन्’, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘यसभन्दा बढी म केही भन्न सक्दिनँ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij