प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ ।
स्थानीयवासी राजकुमार राईका अनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एउटा बालिका सख्त घाइते भएकी छिन् ।
बाबरीका ७० वर्षीया मनसरी राईको बहुलाहा कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ । बहुलाहा कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ ।
छ दिन अगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ ।
गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाई पालक राईले बताए।
उक्त गाईको दूध खाने सबैलाई अहिले जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाएर रेबिजविरुद्धको खोप दिन थालिएको प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए ।
महिला, गाई र बालिका टोक्ने कुकुर पनि सोमबार बिहान मरेको प्रहरीले बताएको छ ।
सो बहुलाहा कुकुर गत सोमबार मरेपछि प्रहरीले संभावित अन्य कुकुर मार्ने अभियान सुरु गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij