प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५
चिप्लेढुङ्गा । “बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह््रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झइन् ।
नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा अधिकारीको जन्मघरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलिसभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।
श्रद्धाञ्जलीसभामा प्रदेशसभा सदस्य कृष्ण थापाले आफूले बोकेको विचार जनतासमक्ष पु¥याउन सक्ने प्रभावशाली व्यक्तित्व अधिकारी रहेको स्मरण गरे। अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै थापाले भने “आँधी बताससँग जुधेर फुलेको सुन्दर फूल जस्तो, सुख्खा असिनादेखि बचेर झुलेको धानको बालाजस्तो यो जिन्दगी हाम्रो खेर नजाओस् ।” उहाँ सधैँ गुनगुनाउनु हुन्थ्यो । अब उहाँको सपना हामीले पूरा गर्नुपर्छ । जीवनलाई खेर जान दिनुहुँदैन ।”
नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।
पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले उनी गाउँठाउँका सबैले गर्व गर्ने नेता रहेको बताए । अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमान्दारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गर्दै माटाको सम्मानमा पनि श्रद्धाञ्जलिसभा उनकै जन्मघरमा गरिएको बताए।
श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij