आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थाहा पाउनुहोस्-आफैँ जाँचेर पत्ता लाग्छ स्तन क्यान्सर

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • नेपालमा महिलालाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पाठेघरको मुखमा हुने क्यान्सर सबैभन्दा बढी हुन्छ । क्यान्सर भयानक रोग भए पनि समयमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ । महिलाले वेला–वेलामा आफौ स्तन परीक्षण गरेर क्यान्सर भए/नभएको पहिचान गर्न सक्छन् । निश्चित समयमा यो विधि अपनाउादा ६० प्रतिशत रोग पत्ता लाग्न सफल भएको छ । स्तन क्यान्सर परीक्षण गर्न त सकिन्छ । तर,  कसरी ? क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले तरिका सिकाएका छन् :

    जाँच्ने दुई तरिका

    स्तन क्यान्सर भए/नभएको प्रारम्भिक अवस्थामै थाहा पाउन घरमै दुई तरिका अपनाउन सकिन्छ । ऐनाअगाडि उभिएर या ओछ्यानमा पल्टिएर नियमानुसार जाँच्नुपर्छ ।  स्तनको माथिल्लो बाहिरी भाग, माथिल्लो भित्री भाग, तल्लो बाहिरी भाग, तल्लो भित्री भाग र मध्य भाग (निप्पल भएको स्थान)को जाँच ऐनाअगाडि उभिएर या सुतेर गरिन्छ । जाँच गर्दा दुई स्तनबीच फरक देखिन्छ भने क्यान्सर भएको हुनसक्छ र तुरुन्त विशेषज्ञकहाँ जानुपर्छ ।

    ऐनामा उभिएर

    ऐनाअगाडि सीधा उभिएर आफ्ना दुवै स्तनलाई हेर्ने । दुवै स्तनको आकार समान छ/छैन अध्ययन गर्ने । बनावट, मुन्टो, छालाको रङ र नरमपना फरक तथा स्तनको कुनै भागमा गिर्खा देखिएको छ/छैन हेर्ने । दुवै हातलाई माथि उठाएर स्तनमा परिवर्तन देखिएका छन् या छैनन् भन्ने बुझ्न एनाअगाडि उभिएर हेर्ने । दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्दा स्तनमा लुकेर बसेका केही परिवर्तन झनै स्पष्ट देखिन्छ ।

    सुतेर

    देब्रे काखीमुनि तकिया राख्ने र देब्रे हातलाई टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचका तीनवटा औँलाको माथिल्लो एकतिहाइ भागले देब्रे स्तन छामेर जाँच गर्ने । स्तनलाई औँला र बुढीऔँलाको बीचमा राखेर छाम्ने । यसरी छाम्ने क्रममा घडी घुम्नेतिर या उल्टो दिशामा क्रमबद्ध रूपमा सबै भागमा जाँच गर्ने । दाहिने काखीमुनि तकिया राखेर माथिकै प्रक्रियाअनुसार दाहिने स्तन जाँच गर्ने । अन्त्यमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट रगत या फोहोर पदार्थ आउँछ या आउँदैन हेर्ने । छुट्याइएको पाँचै भागमा क्रमबद्ध रूपमा छामेर हेर्ने । नुहाएको समयमा पनि यो जाँच्न सकिन्छ । यसरी जाँच्दा देब्रे हातले दाहिने स्तन र दाहिने हातले देब्रे स्तन क्रमश: जाँच्ने ।

    यी लक्षण देखिए क्यान्सरको शंका

    स्तनमा छाम्दा गिर्खा भेटिए । स्तनको छाला सुक्खा भएर आएको छ भने । स्तनमा सुन्तलाको दानामाजस्तो प्वाल परेजस्तो देखिए । स्तननजिक काखीतर्फको भागमा गिर्खा भेटिए । स्तनको मुन्टाबाट पिपजस्तो फोहोर आए ।

    कहिले जाँच्ने ?

    २० वर्ष कटेका प्रत्येक महिलाले आफैँ परीक्षण गर्दा राम्रो हुन्छ । नियमित महिनावारी हुने महिलाले महिनावारी भएको ५ दिनपछि जाँच गर्दा राम्रो हुन्छ । तर, महिनावारी अनियमित छ भने प्रत्येक महिनाको कुनै एक निश्चित गतेलाई तोकेर परीक्षण गर्नु राम्रो हुन्छ । क्यान्सरको लक्षण शंका लागे तुरुन्त अस्पताल जानुपर्छ ।

    वेलैमा थाहा पाए निको हुन्छ क्यान्सर

    क्यान्सर लाग्नबाट रोक्न सकिँदैन । तर, चाँडै पत्ता लागेमा निको भने पार्न सकिन्छ । स्तन क्यान्सर पनि सुरुकै अवस्थामा थाहा भए पूर्ण रूपमा निको हुन्छ । अन्य क्यान्सर जाँच गर्न चिकित्सक र अस्पताल जानु अनिवार्य हुन्छ । तर, स्तन क्यान्सरको लक्षण महिला आफैँले माथि भनेअनुसार  जाँच गरेर पत्ता लगाउन सक्छन् । महिलाले स्तनलाई छामेर शंका गर्न सक्छन् । नियमित स्तन परीक्षण गर्ने ६०–७० प्रतिशतले सुरुकै अवस्थामा स्तन क्यान्सर शंका गर्न सक्छन् । शंका लागेमा तत्काल चिकित्सककहाँ उपचार गर्न जानुपर्छ । विश्वको तथ्यांक हेर्ने हो भने स्तनपान नगराएको स्तनमा बढी क्यान्सर भएको पाइएको छ ।

    म्यामोग्राम अर्को तरिका

    स्तन क्यान्सर पत्ता लगाउने अर्को प्रविधि भनेको म्यामोग्राम हो । यो स्तन क्यान्सर पत्ता लगाउने एक्सरे हो । यसले स्तनलाई स्क्यानिङ गरेर हेरिन्छ । यसरी हेर्दा स्तनमा गिर्खा भए/नभएको तथा स्तनमा क्यान्सर भएको सजिलै पत्ता लाग्छ । सोहीअनुसारको उपचार गर्नुपर्छ । क्यान्सर छ या छैन मात्र हैन, निको भइसकेको क्यान्सर अर्कोमा सरेको छ/छैन भनेर प्रत्येक वर्ष जाँच गराउनुपर्छ । यसरी परीक्षणबाट पत्ता लागेमा वा शंका लागेमा थप परीक्षण गरी समयमा नै उपचार गर्न सकिन्छ । क्यान्सर पहिलो र दोस्रो तहमा छ भने उपचार गर्दा पूर्ण रूपमा निको हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij