आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबैभन्दा बढी विश्वास गरेर पिउने बोतल र जारको पानी पनि दूषित

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौं । उपभोक्ताले सबैभन्दा बढी विश्वास गरेर पिउने जारको पानी पनि दूषित पाइएको छ । जारको पानीमा ९७ प्रतिशतसम्म कोलिफर्म र १० प्रतिशतसम्म फेइकल भेटिएपछि शुद्ध मानिएको जारको पानीसमेत पिउन योग्य नभएको पाइएको हो । ट्यांकरले वितरण गर्ने पानीको स्रोत पनि दूषित भएको र अत्यधिक आइरनका कारण ट्यांकरमा क्लोरिन हाले पनि शुद्ध नभएको पाइएको हो ।
    जापानको एउटा टोलीले राजधानीमा वितरण गरेको खानेपानीका जारको सर्वेक्षण गर्दा यस्तो तथ्यांक पाइएको हो ।

    ‘जारको पानीमा ९७ प्रतिशत कोलिफर्म र १० प्रतिशत फेइकल भेटिएको जापानस्थित युनिभर्सिटी अफ यामानासीबाट हालै प्रकाशित म्यागजिनमा उल्लेख छ’, इन्फोका कार्यकारी निर्देशक विपिन डंगोलले मंगलबार भने, ‘अध्ययनले प्रशोधित गरी बजारमा ल्याइएका भनिएका जारको पानीमा ब्याक्टोरिया देखिएकाले जनस्वास्थ्यमा खतरा देखिएको छ ।’

    बोतल र जार एसोसिएसन, काठमाडौंको पछिल्लो तथ्यांकअनुसार, दैनिक एक लाख २० हजार जार र दुई लाख एक हजार बोतलको पानी बिक्री वितरण भइरहेको छ । ट्यांकरमा भरिने काठमाडौं उपत्यकाका विभिन्न १५ वटा पानीका स्रोतमा अध्ययन गर्दा इन्फोले सबैमा दूषित (कन्टामिनेसन) भएको पाइएको जानकारी दिए । उनले भने, ‘राजधानीका फुटपाथमा खाजा खुवाउने पसलमा पिउनयोग्य भनिएको पानीमा ९७ प्रतिशत कोलिफर्म पाइएको छ ।’

    विश्व स्वास्थ्य संगठन नेपालको कार्यालयका डा. सुदन पन्थीले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा वितरण हुने जारको पानी परीक्षण गर्दा पनि शुद्ध र पिउनयोग्य नभएको जानकारी दिए । उनले भने, ‘१० वटा जारको परीक्षण गर्दा एउटा विषाक्त भेटिएको छ । पानीको गुणस्तर राम्रो भए पनि उपभोक्ताले प्रयोग गर्ने जारको पुनप्र्रयोगका क्रममा फोहोर हुने र ती जारको सफाइ नहुने गरेको देखियो ।’ उनले नेपालमा सुरक्षित पानी योजना लागू नभएको बताए ।

    काठमाडौं उपत्यकाभित्र ६ सय १० वटा ट्यांकरले दैनिक पानी वितरण गर्दै आएका छन ।

    उनका अनुसार, बोतल र जारको पानीमा ५० प्रतिशत फेइकल भेटिएको छ । पिउनका लागि सबैभन्दा बढी प्रयोग गरिने भनिएको जार र बोतलको पानीकै यस्तो अवस्था भएपछि ट्यांकरबाट उपलब्ध हुने खाने भनिएको पानीको अवस्था कस्तो होला ? एक तथ्यांकअनुसार, काठमाडौं उपत्यकाभित्र छ सय १० वटा ट्यांकरले दैनिक पानी वितरण गर्दै आएका छन् ।
    ट्यांकर व्यवसायी विष्णु दाहालले पनि एक सयभन्दा बढी ट्यांकरले बोक्ने पानी पिउनयोग्य नभएको स्वीकारेका छन् । उनले भने, ‘खानेपानी बोक्ने ट्यांकरले २७ वटा मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ तर यसका लागि एउटा निर्देशिका बनाएर सरकारले जिम्मेवार काम गर्ने वातावरण बनाएर नियमित अनुगमन गर्नुपर्छ ।’

    खानेपानी संस्थान बोर्डका सदस्य एवं इन्जिनिर बोधराज दाहालले खानेपानी वितरण गर्ने अधिकांश ट्यांकरले क्लोरिनसम्म नहाली उपभोक्तासम्म पुग्ने गरेको बताए । उनले अन्नपूर्णसँग भने, ‘गत भदौमा संस्थानले राजधानीका विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा ७३ वटामध्ये चारवटा ट्यांकरले मात्र क्लोरिन हालेको पाइयो ।’

    ट्यांकरले वितरण गर्ने पानीमा आइरनको मात्रा अत्यधिक हुने र ट्यांकरमा भरिने उक्त पानीमा क्लोरिन राखेर उपभोक्ताको घरसम्म पुर्‍याउँदा आइरनले क्लोरिनको मात्रा शून्य बनाउने तथ्य पाइएको पानी, सरसफाइ र वातावरणका क्षेत्रमा कार्यरत गुथीका संयोजक प्रकाश अमात्यको भनाइ छ ।

    दुई दशकदेखि कार्यरत ट्यांकर व्यवसायी उपेन्द्र पाठकका अनुसार, संस्थानले समान रूपले पानी पुर्‍याउन नसक्दा हरेक वर्ष १२ महिना नै निरन्तर ट्यांकरले पानी वितरण गरिरहेको छ । बोतल तथा जार एसोसिएनका अध्यक्ष सुवास भण्डारीले उपत्यकामा खानेपानीको ७५ प्रतिशत हिस्सा बोतल र जारले थेगेको बताए ।

    उनले भने, ‘पानी शुद्धीकरणमा कुनै कमी आउन दिने छैनौं ।’
    स्वास्थ्य विभागको इपिडेमियोलोजी एन्ड डिजिज कन्ट्रोल डिभिजनका उपनिर्देशक डा. गुणनिधि शर्माले असारदेखि असोज पहिलो सातामा एक सय ४७ जना (ललितपुरमा एक सय १०, काठमाडौंमा २५, भक्तपुरमा एक, धादिङमा एक, सप्तरीमा दुई र स्थान पहिचान नभएका आठजना) मा हैजा भेटिएको जानकारी दिए ।

    गतवर्ष ७६ जनामा देखिएको बताउँदै उनले भने, ‘उपत्यकाबासी न पानी न खानामा सजग छ, व्यस्त दैनिकीले पनि गुणस्तरीय खानपिन नहुँदा हैजाको यो रूपले महामारी पनि लिन सक्छ ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानी गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले सरकारले वितरण गर्ने खानेपानीका धारा पुराना र लिकेजको समस्या भएको स्वीकारे । उनले भने, ‘मेलम्चीको पानीका लागि नयाँ पाइपलाइन फिटिङ भइरहेको छ, आउँदो वैशाखबाट गुणस्तरीय पानी दिनेछौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij