प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
वासिङटन । नोट सेभेन स्मार्ट फोनको ब्याट्रीहरु पड्कन थालेपछि फोनहरुलाई फिर्ता लिन बाध्य भएको सामसुङको वासिङमेसिन पनि पड्किएको समाचार आएको छ ।
कोरियाली कम्पनीले वासिङमेसिन पड्किएको मुद्दा अमेरिकामा दर्ता भएको र यस विषयमा छलफल भइरहेको पुष्टि गरेको हो ।
अमेरिकाको एउटा लफर्मले दक्षिण कोरियाली टेक निर्माता कम्पनीबिरुद्ध वासिङमेसिन पड्किएको र यसले प्रयोगकर्तामाथि खतरा रहेको भन्दै मुद्दा दर्ता गरेको छ ।
सामसुङका अनुसार सन् २०११ को मार्च देखि अप्रिल २०१६ सम्म बिक्री भएका केही वासिङमेसिनमा समस्या देखिएको बताएको छ ।
समस्या देखिएको वासिङमेसिनमा तन्नाजस्ता ठूला कपडा धुँदा समस्या देखिएको कम्पनीले बताएको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई आफूले किनेको वासिङमेसिनको सिरियल नम्बर जाँच गरेर प्रभावित मोडल रहेको पत्ता लागे कम गतिमा मात्र वासिङमेसिन चलाउन आग्रह गरेको छ ।
सामसुङले कुन मोडलमा समस्या देखिएको नबताए पनि ग्राहकलाई आफूले खरिद गरेको मोडल प्रभावित भएको या नभएको थाहा पाउन सिरियल नम्बर जाँच गर्ने सुविधा दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij