मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

संघर्षशील जोडी : जितु र मुना

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • सिन्धुपाल्चोक जिल्लामा जन्मिएका कलाकार जितु नेपाल तथा फर्पिङमा जन्मिएकी मुना राउत वैवाहिक जीवनमा बाँधिएको १२ वर्ष पूरा भैसकेको छ ।

    दर्शकहरूलाई पेट मिचीमिची हँसाउने जितु नेपाल वास्तविक जीवनमा भने केही हदसम्म सेन्टिमेन्टल छन् । संघर्षबाटै आजको स्थानसम्म पुगेका जितुले २८ वर्षको उमेरमा विवाह गरेका हुन् । आधा दर्जनजति केटी हेरेर पनि चित्त नबुझेका जितु मुनालाई पनि यसो हेरिदिऊँ न भनी महाराजगञ्जस्थित आफन्तको घर गएका थिए ।

    गोरी, हँसिली, हाँस्दा डिम्पल पर्ने तर सिम्पल तथा मीठो बोलीबचन भएकी मुनालाई देख्नेबित्तिकै जितुको मनमा प्रेमको घन्टी बजिहाल्यो । त्यसमा पनि फर्पिङदेखि पिके कलेज पढ्न आउने मुनाको मेहनत देखेर जितुलाई उनको साथ पाए जीवन सहज हुन्छजस्तो लाग्यो ।

    उता मुना भने गीताञ्जली कार्यक्रम चलाउने जितुको कुरा आएपछि बुबाको उत्साह देखेर उनीसँग भेट्न पुगेकी हुन् । झ्वाट्ट हेर्दा आफूभन्दा होचोजस्तो लागेर मन खिन्न पारेकी मुना उनको कुरा गर्ने शैलीबाट भने प्रभावित भइन् । कुराकानी सकेर फर्कने बेला जितु आफ्नो हेल्मेट लिन मुना बसेको ठाउँनजिक आउँदा उचाइ नाप्नकै लागि मुना जुरुक्क उठिन् अनि होचो देखिए पनि आफूभन्दा हल्का अग्लो रहेछ भनेर मन बुझाइन् ।

    त्यति नै बेला मुनालाई हेरेर हास्य शैलीमा मसँग विवाह गर्ने होइन त हजुर भन्दा मुनाले मीठो मुस्कानका साथ नगर्ने भए किन हेर्न आउँथें भनेको क्षण जीवनकै रमाइलो क्षण भएको जितु बताउँछन् ।

    दुवैले घरमा कुरा अघि बढाउने स्वीकृति दिएपछि उनीहरूको इंगेजमेन्ट भयो ।  जितु र मुनासँग इंगेजमेन्टपछि मात्र एक्लै भेटेको अनुभव छ त्यो पनि इंगेजमेन्टका तस्बिर हेर्न मात्र । तथापि त्यो पहिलो डेटिङको अनुभव पनि त्यत्तिकै रोचक छ । मुनालाई कलंकी चोकमा बोलाइएको थियो । त्यतिबेला डबल हेल्मेट लगाउनुपथ्र्याे त्यसैले जितुले अरुसँग हेल्मेट  मागेर लगेका थिए  । मुनालाई लिएर जितु सिधै कालीमाटीको बेकरीमा पुगे । मुनाले हेल्मेट फुकाल्न सकिनन्, जितुले धेरैबेरको प्रयासमा हेल्मेट फुकालिदिए । अनि जितुले भनिहाले, ‘म धेरै अग्लो भएको भए हेल्मेट फुकाल्दा ढाडै दुख्थ्यो । जोडी त भगवान्ले नै बनाएका रहेछन् ।’

    जितुको कुरा सुनेर मुना मरीमरी हाँसेकी थिइन् ।
    मुनालाई जितुको साँचो कुरा बोल्ने बानी सारै मनपर्छ । विवाहअघि नै रक्सी खानुहुन्छ भनि सोध्दा जितुले किन नखानु भनेका थिए । हास्यकलाकारहरूलाई जन्ती लिएर गएका जितुले सामान्य रूपमा  विवाह गरे । चाहेर पनि धुमधामसँग विवाह गर्न गारो थियो । उनीहरूको विवाह भएको दुई महिनामै जितुका बुबा बिते । यसकारण मुनालाई कतै घुमाउन लान नपाएको कुराले जितुलाई अहिले पनि नमज्जा लाग्छ । विवाहपछि आफ्नो कलाकारिता, आम्दानी तथा जीवनशैली राम्रो हुँदै गएको जितुको अनुभव छ । आफ्ना साथीहरूमाझ श्रीमतीसँग डराउने छवि भए पनि उनी श्रीमतीसँग भन्दा आफैसँग डराएको तथा आफूले आफैंलाई तह लाएको भन्न रुचाउँछन् ।

    मेष र वृष राशिका यी जोडी राशिअनुसार एकदमै नमिल्ने, निहुँ खोज्ने हुनुपर्ने भनिए पनि आजसम्म त्यस्तो समय कहिल्यै नआएको बताउँछन् । उनीहरूका एक छोरी तथा एक छोरा छन् । ६ एकान ६ मा जितुको गम्भीर भूमिका देखेर रोएका छोराछोरी बुबाले हँसाएकै मन पर्ने बताउँछन् । त्यसमा पनि मुन्द्रेकै भूमिका सुहाएको उनीहरूको राय छ । चार कक्षामा पढ्ने उनका छोरा पनि अभिनय गर्न, अरूलाई हँसाउन तथा क्यारिकेचर गर्न अघि सर्छन् ।

    मुनालाई जितुको कमेडी सन्देशमूलक तथा समसामयिक विषयवस्तुमा केन्द्रित होस् भन्ने लाग्छ । मुना पनि जितुसँग ३–४ वटा विज्ञापनमा देखिइसकेकी छिन् । उनलाई समय मिल्यो भने हास्य शृंखलामा अभिनय गर्न सकिन्छ भन्ने विश्वास छ ।

    धेरै महत्वाकांक्षी भइयो भने घरपरिवार बिग्रनसक्ने उनीहरूको सोच छ । जितु फुर्सदमा छोराछोरीलाई ब्रेकफास्ट तयार गर्ने आदि सबै काम आफैं गर्छन् । मुना अहिले महानगरपालिकाको १० नम्बर वडा कार्यालयमा कार्यरत छिन् र साँझको समय स्नातकोत्तर अध्ययनलाई दिन्छिन् ।

    श्रीमान्ले कामको जिम्मेवारी लिएका हुँदा आफूले पढ्न पाएको उनी बताउँछिन् । उनीहरू त्यति घुम्न गएका छैनन्, घुम्न गएर खर्च गर्नुभन्दा कसरी सेटल हुने, छोराछोरीको भविष्य र घर कसरी बनाउने सोचमै लागेको मुनाले बताइन् ।

    वर्ष दिनपछि मुनाको पढाइ सकेपछि चारैजना कतै घुम्न गएर रमाइलो गर्ने उनीहरूको योजना छ । आफूसँग जे छ त्यसमै रमाउनुपर्छ भन्ने यो जोडी अहिलेसम्म आदर्श जीवन बिताउन सफल छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij