प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३
म्याग्दी । म्याग्दीको भकिम्ली–१ मुसुङका पदम पुन (अशेस) तत्कालीन नेकपा माओवादीको मगराँत राज्य समितिको सचिवालय सदस्य र माओवादी निकट शिक्षक संगठनको केन्द्रिय तहको नेतृत्वमा पुगेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनलाई कतिपय कार्यकर्ताले पार्टीको भावी नेतृत्वका रुपमा समेत लिने गरेका थिए । कुनै समयमा राजनितिमा सक्रिय पुनको अहिले परिचय फेरीएको छ । पछिल्लो समय जिल्ला तहको राजनितिक गतिविधिमा निश्क्रिय बनेका पुन गाउँमा व्यवसायीक बाख्रापालक कृषकको रुपमा चिनिन थालेका हुन् ।
विद्यार्थी कालदेखि नै बामपन्थी विचारबाट प्रभावित पुनलाई २०५८ सालमा भकिम्लीको जयन्ती माविमा अध्यापन गराईरहेको अवस्थामा सेनाले गिरफ्तार गरेर दुई वर्षसम्म देशका विभिन्न जेलमा राखेको थियो । २०६० सालमा जेलबाट छुटेपछि स्थायी शिक्षकको जागीर छोडेर भुमिगत भएका पुन माओवादी विभाजन हुदा वैद्य नेतृत्वको पार्टीमा आवद्ध थिए ।
राजनीति जीवन सोचेजस्तो नभएपछि उनले एक वर्षअघि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका हुन् । राजनीतिबाट सन्तुष्ट हुन नसकेका पुन बाख्रापालनबाट भने उत्साहीत भएको बताउँछन् । हाल ९२ वटा बाख्रा पालेका पुनले एक वर्षको अवधिमा २० वटा खसी, बोका बिक्री गरेको जानकारी दिए ।
माओवादीमा आएको विभाजनसँगै राजनीतिमा निश्क्रिय रहेको बताउने पुनले जनयुद्धले नेपाली जनतामा परिवर्तन र राजनितिक उपलब्धी ल्याएपनि त्यसलाई संस्थागत गर्न नेताहरुले सहि बाटो अपनाउन नसकेको गुनासो गर्छन् । आयआर्जनका लागि बाख्रापालन गरेको पुनको भनाई छ ।
आठ लाख रुपैयाँ लगानीमा व्यवस्थित खोर र संरचना बनाएर बाख्रापालन गरेका पुनलाई उनका दाजु मिनबहादुर पुनले पनि सघाएका छन् । अझै व्यवस्थित र जिल्लाकै नमुना बाख्रा फार्म बनाउने उनीहरुको योजना छ । भकिम्लीमा रहेको जयन्ती माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका पुन बाख्रापालनसँगै गाउँको विकास निर्माणमा पनि सक्रिय छन् ।
पुन मात्र होईन् जनयुद्धमा सक्रिय भएर राजनीति गरेका अधिकांश माओवादीका नेता, कार्यकर्ताहरु पछिल्लो समय कृषि, पशुपालन, व्यापार, व्यवसायमा आबद्ध भएका छन् । केही नेताहरु बिदेश समेत पलायन भएका छन् । जिल्लामा रहेका नेताहरु मध्य केहीले ब्यापार, ब्यवसाय र राजनीति सँगसँगै अघि बढाएका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका माओवादी नेता हाल बेनी बजार नजिकै रहेको कुरीलाखर्कमा भैसीपालन गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक र केन्द्रिय सदस्य समेत रहेका पौडेलले राजनीति र भैसीपालन संगसंगै अघि बढाएका छन् । बिहान बेलुका घरको काममा व्यस्त हुने दुई वटा उन्नत जातका भैसी पालेका पौडेलले दिउँसोको समय पार्टी, विभिन्न कार्यक्रम, बैठक, कार्यकर्ता भेटघाटमा दिन्छन् ।
आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउन उत्पादनशिल पेशामा संलग्न भएको पौडेलको भनाई छ । ‘व्यक्तिगत रुपमा आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि मात्र नभएर हामीले गरेको कामबाट समाजका अरु व्यक्तिहरु आत्मनिर्भरतातर्फ अग्रसर गराउन खोजेको हो’ पौडेलले भने ।
अन्तरीम सासद र पहिलो संबिधानसभामा दुई पटक जनप्रतिधिको भएका अर्का पुर्व सांसद गमबहादुर श्रीस पनि विगत पाँच वर्षदेखि आफ्नै जन्मथलो बरंजामा बसेर किराना पसल सञ्चालन गरिरहेका छन् । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा माओवादीमा आवद्ध उहाँ पार्टीको कामका साथै घरमा रहँदा किराना पसललाई समय दिन्छन् ।
स्थानीय जनप्रिय निमावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका श्रीसले गाउँको विकास निर्माण, सामाजिक गतिबिधिमा पनि संलग्न हुने गर्नुभएको छ । हाल विप्लप नेतृत्वका माओवादीमा रहेका युद्धकालमा जनसेनाको कमाण्डर भएर भुमिगत बनेका लालु किसान जिल्ला प्रशासन अगाडी हार्डवर्यर पसल सञ्चालन गरेर बसेका छन् ।
अर्का माओवादी नेता पदम पुन (फिल्टर) र तारा पुनले बेनीमै मासु पसल सञ्चालन गरेका छन् । हाल नयाँ शक्ति नेपालको जिल्ला संयोजक रहेका भुवन बुढाथोकीले कालीपुलको कर्वडहलको सटरमा खाजा पसल चलाएका छन् । पुनद्धय र बुढाथोकी भुमिगत राजनितिबाट आएका नेता हुन् ।
हाल नयाँ शक्तिमा रहेका अर्का नेता प्रेम गिरी (अबिरल)ले बरंजा १ भोर्लेनीमा व्यवसायीक सुन्तला खेती र बाख्रापालन गरेका छन् । गिरीलाई बुधबार जिल्ला कृषि विकास कार्यालयले जिल्ला स्तर राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको छ ।
खुल्ला राजनितिमा आएपछि व्यक्तिगत, घरयसी ब्यवहार र पार्टीको काममा खटिदा आफ्नै खर्च आवश्यक पर्ने भएकाले नेताहरु आयआर्जनका लागि ब्यापार, ब्यवसाय र उद्यममा संलग्न हुन थालेका हुन् । भुमिगत हुँदा माओवादी नेता कार्यकर्ताहरु जनताको घरमा खान्थे, त्यही बाँस बस्दथे । जनताले गास काटेर माओवादीका नेता कार्यकर्ताहरुलाई सहयोग गरेका थिए ।
व्यक्तिगत खर्चका लागि पार्टीले निश्चित रकम दिने गर्दथ्यो । खुल्ला राजनितिमा आएपछि आफ्नो खर्च आफैँ व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । धनी हुनु भन्दा पनि आफू आत्मनिर्भर हुन र अरुलाई स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन उद्यम ब्यवसायमा लागेको नेताहरु बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij