प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
मकवानपुरको दामनमा ‘ग्रे साईडेड थ्रस’ नामको चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा हो ।
२४ सेन्टिमिटर लामो हुने उक्त चराको आँखीभौं सेतो तथा शरीरको कोखा तथा पेट खैरो हुन्छ । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामाकरण भइ सकेको छैन ।
‘प्रकृतिका साथीहरु’ नामक संस्थाका चरा संरक्षण अधिकृत सोम जिसीले गत पुसमा उक्त चरा देखेर तस्बिर खिचेका थिए । वरिष्ठ चराविद्हरु डा. हेम सागर बराल र क्यारोल इन्स्किप लगायतले उक्त चरा नयाँ प्रजाति हुन सक्ने सुझाएपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग पठाइएको थियो ।
‘विभागले उक्त चरा नेपालका लागि नयाँ भनेर प्रमाणित गरेको छ,’ प्रकृतीका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले शनिबार कान्तिपुरलाई भने । चरा पहिचानका लागि विभागका इकोलोजिष्ट लक्ष्मण पौड्यालले विज्ञहरुसँग बैठक राखेर परामर्श गरेका थिए । यो समेत नेपालमा पाइने चरा प्रजातिको संख्या ८७९ पुगेको छ ।
यसअघि जिसीले नेपालमा हाँस प्रजातिका तीन नयाँ प्रजाति पत्ता लगाएका थिए । उनले विदेशी चरा पारखीलाई नियमित रुपमा नेपाल, भारत तथा भुटानमा चरा अवलोकन गराउने गरेका छन् । गत वर्षको पुस ९ गते चरा अवलोकन गराउन अमेरिकी चराप्रेमी मिक कुकरलाई लिएर दामन गएका थिए । उनले भने, ‘त्यति नै बेला पहिला नदेखेको चरा देखें अनि फोटो खिचें ।’
नेपाललगायत उक्त चरा भारत, चीन, म्यानमार, लाओस र थाइल्याण्डमा अभिलेख गरिएको छ । कार्यकारी निर्देशक आचार्यका अनुसार संसारभर यिनको संख्या २५०० देखि ९९९९ सम्म रहेको अनुमान गरिएको छ ।
यिनीहरु बसाई सराई गर्ने चरा हुन् । हिउँद छल्न तल झर्ने यिनीहरु नेपालमै बस्छन वा हिउँदमा मात्र आउँछन् भन्ने अहिलेसम्म निश्चित भएको छैन । वन विनाशले यिनको अवस्था र संख्यालाई असर गरेको अनुमान गरिएको छ । नेपालमा यिनको अवस्थाको बारेमा पनि जानकारी छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij