आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्क्रब टाइफसको ६ महिना : ३८ जिल्लामा ६३१ संक्रमण, नौजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • चितवन  । देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ ।

    विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।

    महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिए । “केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ”, शर्माले भने, “चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।”

    चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका दुई सय १९ र स्क्रब टाइफसबाट हालसम्म तीन सय सातजना सङ्क्रमित भएको जानकारी दिए । उनले डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको बताए ।

    इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ सालको वैशाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई, सङ्खुवासभाका दुई, कैलालीका दुई, तनहुँका एक, गुल्मीको एक र भोजपुरका एकजना छन् । अघिल्लो वर्ष एक सय एकजनामा टाइफस सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको डा शर्माले जानकारी दिए ।

    स्क्रब टाइफस एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण पुष्टि भएको रोग हो भने डेङ्गु रोग २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिएको थियो । चितवनमा दुईवटै रोगको परीक्षणमा चितवनमा नेपाल सरकारले निःशुल्क कीटको व्यवस्था गरेको छ भने जिल्लामा नियन्त्रण अभियानसमेत सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो । चितवनको पनि रत्ननगरमा अहिले डेङ्गुको प्रकोप बढ्दो रहेको उनको भनाइ छ । चितवनमा भएको मध्ये रत्ननगरमा मात्र ८० प्रतिशत डेङ्गुको सङ्क्रमण फैलिएको छ ।

    एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ भने उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा हुर्कन्छ । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु र कुनै पनि खुला भाँडो या बट्टामा पानी जम्न दिन नहुने चिकित्सकले बताएका छन् ।

    यस्तै, स्क्रब टाइफस रोग मुसाको कानमा बस्ने माइट नामको सूक्ष्म किराले टोकेमा सर्छ । मुसाको कानमा बसेर अघाइसकेपछि झार या झाडीमा झर्ने र त्यहाँ मानिस पुग्दा टाँसिएर टोक्छ र टाइफस रोग सर्ने गर्छ । चितवनमा अघिल्लो महिना मुसा र माइटमा गरिएको परीक्षणमा समेत दुवैमा टाइफसको सङ्क्रमण भएको पाइएको इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए ।

    डेङ्गु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, प्लेटलेट घट्ने हुन्छ ।

    स्क्रब टाइफस रोग लाग्दा भने एकसय चार डिग्रीभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, विभिन्न टोकेको ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि लिन जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा अनुरोध गरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij