प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
लण्डनको सैलुनकी एक कर्मचारीले नाओमी इस्टेडको कपाडलाई ‘फिनिसिङ टच’ दिइन् ।
३० वर्षीया नाओमीले आफ्नो कपाललाई छोइन् र ऐनामा हेरेर मुस्कुराइन् । उनको कपाल पहिलेको भन्दा बाक्लो भएको थियो । कपालको नयाँ स्वरुपले उनलाई निकै आकर्षक बनाएको थियो । उनको कपाल निकै राम्रो भएको थियो, तर जुन कपालले उनी सुन्दर देखिएकी थिइन् त्यो उनको होइन । उनको टाउकोमा भएको सबै कपाल उनका होइनन् ।
उनले आफ्नो त्यो स्वरुप पाउन तीन घण्टा खर्चेकी थिइन् । राम्रो देखिन समयले मात्र कहाँ पुग्थ्यो र, यसका लागि उनले १ हजार पाउन्ड (लगभग १ लाख ३२ हजार नेपाली रुपैयाँ) उक्त ब्यूटी सैलुनमा बुझाएकी छिन् । वास्तविक मानव कपालबाट बनाइएको हेयर एक्सटेन्सनलाई उनको आफ्नै पहेंलो कपालको जरामा राखिएको थियो ।
नाओमी हज्जारौं बेलायती महिलालाई प्रतिनिधी गर्ने त्यस्ती पात्र हुन् जसले हेयर एक्सटेन्सन लगाउँछन् । विगत ५ वर्षमा यसको संख्यामा ७० प्रतिशतले वृद्धि भएको छ ।
चेरिल फर्नान्डेज भर्सिनीदेखि लिज हर्ले र म्यारी बेरीले रेड कार्पेटमा राम्री देखिनका लागि हेयर एक्सटेन्सनकै सहारा लिने गर्दछन् ।
हेयर एक्सटेन्सन आयात गर्ने देशमा बेलायत तेस्रो स्थानमा पर्छ जसले ४ करोड ३० लाख टन मानव कपाल देशभित्र भित्र्याउँछ ।
तर आफ्नो कपालमा लगाइने हेयर एक्सटेन्सन कहाँबाट आउँछ, अझ भन्नु पर्दा कसको हो भन्ने प्रश्न प्रयोग गर्नेको धेरैको मथिङ्गलमा घुमेको छ ।
यहाँ हामी तपाईंलाई यसको वास्तविकताबारे जानकारी दिँदैछौं ।
भारतमा ‘कुमारी कपाल’ खौरिइन्छः
दक्षिणी भारतको यादागिरीगुट्टा मन्दिरमा गरिब महिला आफ्नो कपाल खौरिनका लागि लाइन लाग्ने गर्दछन् ।
ती मध्ये धेरैले आफ्नो कपालमा कहिले पनि मेहेन्दि वा कलर लगाएका हुँदैनन् भने कतिले एक पटक पनि आफ्नो कपालमा कैंची चलाएका हुँदैनन् । यस्ता कपाललाई ‘कुमारी कपाल’ भनिन्छ । उनीहरुको कपाल स्टिलको ब्लेड लगाएर हजामले पाँच मिनेटभित्रै खौरिदिन्छन् ।
यस्ता महिलामध्येकी एक हुन्, २८ वर्षीया लभन्या काकाला जो गाढा गुलाबी रङको साडी लगाएर कम्मरसम्मको कपाल खौरन लाइन लागिरहेकी छिन् । यसबापत् उनले केही पनि पाउँदिनन् र केही पनि नचाहिने बताउँछिन् ।
‘मैले यस्तो गरें किनभने म भगवानलाई धन्यवाद भन्न चाहन्छु । मेरो कपाललाई के गरिन्छ, त्यसमा मलाई केही आपत्ति छैन । यदि खराब कपाल भएको कोही महिलाले राम्री देखिनका लागि मेरो पुरानो कपाल प्रयोग गर्छिन् भने यसमा मैले रिस गर्नुपर्ने केही छैन । फोहोरको भाँडोमा जानुको साटो प्रयोग गरिनु नै राम्रो हो नि ।’
हिन्दु मन्दिरमा कपाल चढाउने परम्परा भारतमा निकै पुरानो हो । ती कपाल पैसा कमाउनका लागि मानिसहरुले किनबेच गर्छन् भन्ने कुरा त्यहाँका मानिसलाई राम्रैसँग थाहा पनि छ ।
कपाल खौरने कार्यक्रममा सहभागी हुन कहिलेकाँही ५० हजार मानिस लामो लाइनमा बस्ने गर्दछन् । यसो गर्दा धर्म कमाइन्छ भन्ने जनविश्वास रहेको छ । कपाल खौरिएपछि ती व्यक्तिको टाउकोमा चन्दनको पेष्ट लगाइन्छ ।
लभन्याको कपाल उच्च कोटीको हो । दक्षिण भारतका महिलाहरुले आफ्नो कपाल सिल्की बनाउन केमिकलयुक्त स्याम्पुको प्रयोग गर्दैनन्, बारम्बार कपाल कोरिरहन्छन् र नरिवलको तेल हाल्छन् ।
त्यस्ता कपाल रङ कालो हुने भएतापनि यसलाई ब्लिच गरिन्छ र पहेंलो रङमा परिवर्तन गरिन्छ जुन बेलायतको सैलुनमा निकै चर्चित रङ हो । त्यसकारण भारतीय कपालको सबैभन्दा बढि माग छ । भारत कपाल निर्यात गर्ने देशको शीर्ष स्थानमा पर्दछ ।
तिरिमुला नामक मन्दिरले एक वर्षमा २ करोड २० लाख रुपैयाँ कपाल बेचेबापत् कमाएको बताइएको छ । यी रकम नयाँ विद्यालय र अस्पताल बनाउँदा दानस्वरुप दिइने बताइए पनि यस बारे अनुसन्धान गर्न खोज्दा समस्या भएको डेली मेलले बताएको छ ।
इम्मा तार्ले, युनिभर्सिटी अफ लण्डन, गोल्डस्मिथको एन्थ्रोपोलोजीकी प्राध्यापक, ले आफूले भारतको विभिन्न स्थानमा घुमेर सो बारे अध्ययन गर्दा कपाल खौरिएकाहरुले यसमा निकै गौरव गर्ने बताइन् ।
‘कपाल खौरिनकै लागि मानिसहरु निकै टाढाबाट मन्दिर जान्छन्,’ उनले भनिन् । ‘यसो गर्न उनीहरु निकै आतुर हुन्छन् ।’
एक महिलाले उनलाई भनिन्, ‘कपाल महिलाको सुन्दरता हो । यदि उनले त्यो भगवानलाई सुम्पिन्छिन् भने उनको सुन्दरता सिधै भगवानसमक्ष पुग्छ ।’

व्यापारी जसले गरिबलाई लक्षित गर्छन्ः
कपालको व्यापार गर्ने व्यापारीहरु एसिया र पूर्वी युरोपमा घुम्ने गर्दछन् । थोरै पैसाको लालच देखाउँदै उनीहरुले महिलाको कपाल खौरिन्छन् ।
भारतमा त्यस्ता व्यापारीले पुरुषलाई लक्षित गरेका हुन्छ । ७ सय रुपैयाँ पाएपछि उनीहरुले श्रीमतीलाई कपाल खौरिन र बेच्नको लागि दबाब दिन्छन् । महिलाले यसो गर्न नमान्दा कतिपय अवस्थामा उनीहरुलाई आक्रमण गरी कपाल खौरिएको घटना पनि सार्वजनिक भइरहेका छन् । गाउँका बालबालिकालाई खैलौना दिएर उनीहरुको कपाल खौरिएर लिइन्छ ।
यति मात्र होइन, पूर्वी युरोपेली जेलका कैदीहरुको कपाल जम्मा गरेर हेयर एक्सटेन्सन र विग्स बनाइनेसमेत बताइएको छ ।
दक्षिण अमेरिकी कपाल, विशेषगरी ब्राजिल र पेरु, बाक्लो हुने भएकाले बढि पैसा दिइन्छ ।
पेरुको ग्रामिण इलाकामा व्यापारीहरु गरिब महिलाको कपाल लिनका लागि घरघर डुल्ने गर्दछन् । यदि कसैले यसो गर्न स्विकार गरे, उनको कपाल कैंचीले काटिन्छ ।
फोहोरको थुप्रोमा खोजिन्छ कपालः
एक महिलाको एक दिनमा ५० देखि १०० वटा कपाल झर्छ । व्यापारीहरुले यो पनि छोड्दैनन् ।
व्यापारीहरु एसिया, पूर्वी युरोप, दक्षिण अमेरिकाको घर र कपाल सैलुनमा घुम्छन् – मरेको कपाल सङ्कलन गर्न । यस्तो कपाल उपलब्ध गराइनेलाई कपालमा लगाउने क्लिप अथवा एउटा साबुन दिइन्छ ।
कतिले फोहोरको थुप्रोमा कपाल खोज्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij