प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
चन्दीगढ । विराट कोहलीको शानदार १ सय ५४ रनको पारीको मद्दतले भारतले न्युजिल्याण्डलाई तेस्रो एकदिवसीय खेलमा ७ विकेटले पराजित गर्यो । रन पछ्याउने क्रममा कोहलीको यस्तो प्रदर्शन नौलो भने होइन । पहिलो ब्याटिङ गर्दा भन्दा कोहली रन पछ्याउँदा उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन् । जुन दरमा उनले राम्रो शुरुवातलाई शतकमा परिणत गरिरहेका छन्, भारतका महान् ब्याटसम्यान सचिन तेन्दुलरको किर्तिमानहरु पनि धरापमा पर्ने देखिएको छ । कुनै बेला सचिनले नै आफ्ना किर्तिमान भंग गर्न सक्ने खेलाडीमा कोहलीकै नाम लिएका थिए ।
हेरौं अंकमा कोहलीको प्रदर्शन
२६ एकदिवसीय शतक विराट कोहलीको हो । अब उनीअघि मात्र तीन खेलाडी रहेका छन् । सचिन तेन्दुलर (४९), रिकी पोन्टिङ (३०) र सनथ जयसुर्या (२८) । रन पछ्याउँदा कोहलीको १६ शतक रहेको छ यो सचिनको किर्तिमानभन्दा मात्र १ ले कम हो । सफलतापूर्वक पछ्याउनेमा भने कोहलीले सचिनलाई भेट्याएका छन् । दुवैले १४ पटक शतक बनाउँदा भारतले खेल जितेको छ ।
१६६ विराटलाई २६ शतक बनाउन लागेको पारीको संख्या । जुन २६ वा सो भन्दा बढी शतक खेलाडीमध्ये सबैभन्दा चाँडो हो । सचिनलाई समेत यो उपलब्धि हासिल गर्न २४७ पारी लागेको थियो ।
९०.१० सफलतापूर्वक रन पछ्याउँदा कोहलीको औसत । उनले ५८ पारीमा ३५१४ रन जोडेका छन् । यसमा उनले १४ शतक र १५ अर्धशतक बनाएका छन् । सफलतापूर्वक रन पछ्याउँदा २५ सय वा सोभन्दा बढी रन बनाउने खेलाडीमध्ये कोहलीको औसत सबैभन्दा राम्रो छ । उनीपछि ब्रयान लाराको औसन ६८.५८ रहेको छ ।
१३९ यसअघि मोहालीमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर । धोनीले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध बनाएका थिए ।
५४ ट्रन्ट बोल्टको ३३ बलबाट कोहलीले बनाएको रन । उनको १६ मध्ये ८ चौका बोल्टको बलिङबाट आयो । बोल्टको अन्तिम ओभरमा उनले २२ रन हिर्काएका थिए ।
२४४ महेन्द्र सिंह धोनीलाई ९ हजार रन पूरा गर्न लागेको पारीको संख्या । उनीभन्दा ५ खेलाडीले मात्र योभन्दा कम समयमा उक्त उपलब्धि हासिल गरेका छन् ।
१९६ धोनीले हिर्काएको छक्को संख्या । उनले भारतका लागि सचिन तेन्दुलकरको १९५ छक्को किर्तिमानलाई तोडेका छन् । उनीअघि शाहिद अफ्रिदी (३५१), जयसुर्या (२७०), क्रिस गेल (२३८) र ब्रेन्डन म्याकुलम (२००) रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij