प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
उदयपुर । कतारमा मानसिक सन्तुलन गुमाउन पुगेका एक नेपालीको उदयपुर प्रवासी सेवा समाजले उद्दार गरि नेपाल फर्काउन सफल भएको छ ।
जिल्लाको बेल्टार बसाहा नगरपालिका ३ घर भई कतारको सडकमा वेवारिसे अवस्थामा रहेका मानसिक सन्तुलन गुमाएका खम्ब सिंह खत्रीलाई उद्दार गरि आज (बिहिबार) नेपाल फर्काईएको हो ।
बाइस महिना अघि कतारको एक सप्लाइ कम्पनीमा काम गर्न पुगेका खत्रीले काम गर्ने कम्पनी बन्द भएपछि समस्या परेका उदयपुर प्रवासी सेवा समाजका सल्लाहकार होम बस्नेतले जनकारी दिए । काम गर्ने कम्पनी बन्द भएपछि साहुको ऋण र काम विहिन हुनु परेपछि मानसिक रोगको शिकार भएका थिए ।
दोहाको साहिलिया कम्पनीको कोठामा बस्दा मालिकको भाडा तिर्न नसक्दा कोठा बन्द गरेपछि खत्री सडकमा भौतारी रहेको अवस्था नेपालीहरुले भेटेका थिए । कुनै परिचय पत्र विना सडकमा भौतारिरहेको अवस्थामा भेटिएका खत्रीको फोटो सामाजिक सन्जालमा पोष्ट भएपछि उनको परिचय खुलेको बस्नेतले बताए ।
कतार सरकारले कागज पत्र विनाका आप्रवासी कामदारहरुलाई आम माफी दिने र सम्बन्धित देश फर्काउन दिएको सुविधालाई उपयोग गरि खत्रीलाई नेपाल फिर्ता गरिएको जनाईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij