प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३
सेभिया । एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले सेभियाविरुद्ध २–१ को महत्वपूर्ण जीत हासिल गरेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ ।
आइतबार भएको खेलमा रियलले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको थियो ।
सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना खेलको १५ मिनेटमा नै पछि परेको थियो । शुरुदेखि बार्सिलोनामाथि दबाब राखेको सेभियाका लागि भिटोलोले गोल गर्दै अग्रता दिलाए ।
तर, पहिलो हाफ सकिन लाग्दा लियोनेल मेस्सीले बराबरी गोल गरे । यो बार्सिलोनाका लागि उनको ४६९ औं गोल थियो । सेभियाविरुद्ध उनको यो २७ औँ गोल पनि थियो ।
खेलको दोस्रो हाफमा लुइस सुवारेजले निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।
११ खेलपछि बार्सिलोनाको २५ अंक रहेको छ ।
हिजो भएको अन्य खेलमा भिल्लेरियालले रियल बेटिसलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij