मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टेटनस यसकारण खतरनाक

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • समयमै सचेत हुन सके टेटनस (हाम्रो उच्चारणमा ‘टिटानस’, नेपालीमा ‘धनुषटंकार’) संक्रमणबाट सहजै बच्न सकिन्छ । सुत्केरी महिला, नवजात शिशु टेटनसबाट छिटै संक्रमित हुन सक्छन् । त्यस्तै, जनावरको मल चलाउँदा खेतबारीमा काम गर्ने किसानलाई पनि यसले सताउन सक्छ । फलामे औजारसँग काम गर्दा कहिलेकाहीँ औजारले काटेर चोट लाग्न सक्छ । त्यस्तो वेलामा तुरुन्त उपचार गर्न सकिएन भने टेटनसका जीवाणुले संक्रमण गर्ने सम्भावना धेरै हुन्छ ।

    टेटनस (धनुषटंकार) संक्रमण भयो भने सर्वप्रथम बंगारा र घाँटी बाँध्ने वा कसिने हुन्छ । जसलाई ‘लक–ज’ पनि भनिन्छ । यो ‘क्लस्ट्रिडियम टेटनी’ नामक जीवाणु संक्रमण (ब्याक्टेरियल इन्फेक्सन) द्वारा मानिसलाई आइलाग्ने समस्या हो । यो रोग संक्रामक भए पनि सरुवारोग होइन । टेटनसको जीवाणु धुलो–मैलो, फलामको खिया तथा जनावरको गोबरबाट पैदा हुन्छ । घोडाको लिदीबाट यो सबैभन्दा छिटो संक्रमण हुन्छ भन्ने हाम्रो परम्परागत विश्वास छ ।

    यो जीवाणुले ‘टेटनोस्पाजमिन’ नामक विषाक्तता फैलाइदिन्छ । जुन विषाक्तताले यस्तो विष फैलाउँछ, जसले मेरुदण्ड हुँदै मांसपेशीमा स्नायु सञ्चारको काम ठप्प गराइदिन्छ । त्यसैले मांसपेशीमा ऐठन हुन थाल्छ । यसबारे वेलैमा होस पुर्‍याएमा खासै समस्या बनाउँदैन । तर, होसियारी अपनाइएन भने यसबाट ज्यान पनि जान सक्छ ।

    टेटनसको संक्रमण र ओथरा (इन्क्युबेसन) तीन दिनदेखि तीन हप्तामा हुन्छ । हुन त मेनिन्जाइटिस र रेबिजका बिमारको लक्षण पनि योसँग मिल्दाजुल्दा हुन्छन् । छालामा काटेको, पोलेको, छेडेको, टाटु खोपेको ठाउँ, किरा वा जनावरले टोकेको, पुरानो बिग्रेको घाउ, दाँतको संक्रमण, फोहोरबाट नजोगाइएको घाउ–चोट आदिबाट टेटनस हुने प्रबल सम्भावना हुन्छ । यो मानिसहरूबीच आपसमा सर्ने सरुवारोग होइन । टेटनस लाग्न थालेपछि मुख खोल्न र खाएको निल्न गाह्रो हुन्छ । मांसपेशीसहित छाती, पिठ्युँ, घाँटी अररिन्छ । टेटनसको संक्रमणले निमोनिया र अक्सिजनको अभावका कारण मस्तिष्कमा क्षति निम्त्याउन सक्छ । मुटुको धड्कन र रक्तचाप बढ्छ, ज्वरो आउँछ । चिटचिट पसिना पनि आउँछ । यस्तै लक्षण र यसको खोप लिए–नलिएको आधारमा चिकित्सकले स्वास्थ्य परीक्षण गरी ठहर गर्छन् ।

    जुनसुकै उमेरमा खोप दिन सकिन्छ
    टेटनसले ल्याएका समस्याको आधारमा यसको उपचार गरिन्छ । समस्याको गम्भीरताका आधारमा थेरापी र एन्टिबायोटिक वा अन्य किसिमका औषधिका साथ उपचारमा विविधता ल्याउनुपर्छ । समस्या उत्पन्न गरेको घाउ वा चोट सफा राख्ने, संक्रमित तथा मृत कोषिका हटाउन आवश्यकताअनुसार सानो शल्यक्रिया पनि हुन सक्छ । टेटनसको विषाक्ततालाई सामान्यीकरण गर्न ‘टेटनस इम्युन ग्लोबुलिन’ (टिआइजी) उपचार पनि गर्नुपर्ने हुन सक्छ । टेटनसको खोप पनि दिइन्छ । मुख खोल्न, निल्न अप्ठ्यारो, मांसपेशीमा ऐठन भए बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ । बच्चालाई डिपिटी खोप दिँदा टेटनसप्रतिरोधी खोप पनि त्यसैमा हुन्छ । खोप जुनसुकै उमेरका मानिसलाई पनि दिन सकिन्छ । एकपटक लगाएको खोपले १० वर्षसम्म प्रतिरक्षा दिन्छ ।

    कुनै पनि बिमार लागेको वेला खानाको अद्वितीय भूमिका हुन्छ । टेटनसको समस्या भएको वेला दाँतले चपाउन गाह्रो पर्ने हुँदा झोल खानेकुरा दिनु उचित हुन्छ । पर्याप्त प्रोटिन भएका खानाले यसका जीवाणुको संक्रमण घटाउन मद्दत पुग्छ । त्यसैले हरेक दिन एक सय ५० ग्राम प्रोटिनको मात्रा दिइन्छ । मेट्रोनाइडेजोल, डाइजिपामजस्ता औषधिका साथै म्याग्नेसियमको सुई पनि दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij