आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालबालिकाको निमोनियाबारे १३ तथ्य

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • ‘वाचा पूरा गरौँ, निमोनिया अहिलेदेखि नै रोकौँ’ भन्ने नाराका साथ केही दिनअघि विश्व निमोनिया दिवस मनाइयो । पाँच वर्षमुनिका बालबालिकाको ज्यान लिने प्रमुख कारक निमोनिया रोगबारे जनचेतना जगाउने काम नोभेम्बर १२ का दिन संसारभर भयो । नेपालले सन् २००९ देखि यो दिवस मनाउन थालेको हो । बालबालिकाको निमोनियाबारे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. दिनेश धरेलले केही तथ्य प्रस्तुत गरेका छन् :१. निमोनियाका कारण गत वर्ष मात्रै विश्वमा पाँच वर्षमुनिका नौ लाख २० हजारभन्दा बढी बालबालिकाको ज्यान गयो । यो विश्वकै कुल मृत्युको १६ प्रतिशत हो । निमोनियाका कारण मर्ने बालबालिकाको यो संख्या प्राणघातक एचआइभी र एड्स, क्षयरोग, औलो, जिका र इबोला सबैबाट हुने मृत्युको योगफलभन्दा पनि बढी हुन आउँछ । साधारणजस्तो लाग्ने निमोनिया रोगले नेपालमा पनि अरू रोगको तुलनामा सबैभन्दा बढी पाँच वर्षमुनिका बच्चाको ज्यान लिने गरेको छ ।

    २. निमोनिया फोक्सोमा असर गर्ने श्वासप्रश्वासको संक्रमण हो । जब निमोनिया गराउने किटाणु श्वासमार्ग हुँदै फोक्सोसम्म पुग्छ, तब हावा भरिनुपर्ने फोक्सोभित्रका साना थैलीहरूमा पानी-पिप जम्न पुग्छ । यो अवस्थामा शरीरमा अक्सिजनको मात्रा पूरा गर्न कठिन भई सास फेर्न गाह्रो हुन्छ ।

    ३. खोकी लाग्नु, छिटो–छिटो सास फेर्नु, कोखा हान्नु, घ्यार–घ्यार गर्नु र छाती दुख्नु निमोनियामा देखिने केही लक्षण हुन् । संक्रमणले कडा ज्वरो आउने हुन्छ, तर कहिलेकाहीँ ज्वरो नआउन पनि सक्छ । समयमा उपचार हुन सकेन भने किटाणु रगत हुँदै शरीरभरि फैलने वा फोक्सोबाहिर पिप जम्ने हुन्छ । अनि, बच्चा सिकिस्त भएर ज्यानसमेत जान सक्छ ।

    ४. धेरैजसो निमोनिया श्वासप्रश्वासबाट एक–अर्कोमा सर्ने गर्छ । सामान्यतया श्वासमार्गमा किटाणुको प्रवेश हुँदैमा निमोनिया हुँदैन, किनकि एउटा स्वस्थ बच्चाको शरीरले उक्त संक्रमणको प्रतिरोध गर्छ । रोगसँग लड्ने क्षमता कमजोर भएका बच्चाहरू (पूर्णतया स्तनपान गर्न नपाएका शिशु, कुपोषित बच्चा, एचआइभी संक्रमित आदि)मा निमोनिया लाग्ने तथा ज्यानै लिने जोखिम बढी हुन्छ ।

    ५. चुरोट वा दाउराको धुवाँले अनि हावा राम्ररी पास हुन नपाउने कोठामा धेरैजना बस्ने गर्दा निमोनियाको जोखिम बढ्छ ।

    ६. बच्चालाई चिसो गढेर निमोनिया भएको हामी बारम्बार सुन्ने गर्छौं । नुहाइदिएर, एकैछिन चिसो ठाउँमा पुगेर वा हामीले सर्दी लाग्ने ठानेका कुनै खानेकुरा खाएर बच्चालाई निमोनिया लाग्ने होइन । यो त आँखाले देख्न नसकिने किटाणुको संक्रमणले गर्दा देखिने रोग हो । यस्ता किटाणुहरू ब्याक्टेरिया, भाइरस वा फंगाईमध्ये कुनै समूहमा पर्छन् ।

    ७. बच्चाहरूमा सबैभन्दा बढी देखिने ज्यान लिन सक्ने खालको कडा निमोनिया दुईखाले ब्याक्टेरियाले गराउँछ । यी दुवै किटाणुबाट बचाउने खोप नेपालको नियमित खोप तालिकामा संलग्न छ र निःशुल्क उपलब्ध छ । एउटा किटाणुको संक्रमण ६, १० र १४ हप्तामा लगाउने खोपले रोक्छ भने अर्को ६ र १० हप्ता अनि नौ महिनामा लगाउने खोपले रोक्छ । धेरै हदसम्म प्रभावकारी भए पनि खोप लगाउ“दैमा कहिल्यै निमोनिया हुँदैन भन्नेचाहिँ होइन ।

    ८. नवजात शिशुमा देखिने निमोनिया भने आमाको योनिमार्गबाट आउने फरक खालको ब्याक्टेरियाले गराउँछ । यो निकै कडा खालको हुन्छ । यीबाहेक विभिन्न उमेर र जोखिम समूहमा अन्य ब्याक्टेरियाले पनि निमोनिया गराउन सक्छ ।

    ९. भाइरसले गर्ने संक्रमणले धेरैजसो फोक्सोमा असर गर्दैन । यसको अर्थ भाइरल संक्रमणले श्वासप्रश्वासमा असर गरेर खोकी लाग्ने भए पनि प्रायः निमोनिया हुँदैन । तर, दुई वर्षमुनिका (विशेषगरी महिना नपुगी जन्मेका बच्चाहरू) बच्चाहरूमा एक प्रकारको भाइरसले निमोनिया गराएर कहिलेकाहीँ ज्यानसमेत लिन सक्छ ।

    १०. निमोनिया पत्ता लगाउन खासै कुनै परीक्षण आवश्यक पर्दैन । दक्ष स्वास्थ्यकर्मीले बच्चाको लक्षण हेरेरै या शरीर जाँच गरेर निमोनिया हो-होइन छुट्याउन सक्छन् । यो कुरा सबै तहको स्वास्थ्य संस्थामा सम्भव हुन्छ । कहिलेकाहीँ भने छातीको एक्स–रे र रगतको जाँच पनि आवश्यक हुन सक्छ ।

    ११. ब्याक्टेरियाले गराउने निमोनियाका लागि उपयुक्त खालको एन्टिबायोटिक खानैपर्छ । खाने औषधिले नभेटेमा वा कडा निमोनिया भएमा भर्ना गरेर सुईबाट एन्टिबायोटिक लगाउनुपर्ने पनि हुन सक्छ । कहिलेकाहीँ अक्सिजन, सलाइन मात्र नभएर आइसियूमा राखेर मेसिनबाट सास फेराउनुपर्ने पनि हुन्छ । सानो बच्चामा हुने एक खालको भाइरल निमोनियामा पनि यस्तो गम्भीर अवस्था आउन सक्छ ।

    १२. शिशुलाई जन्मनेबित्तिकै सुरु गरेर ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अनि उमेरअनुसार पोषिलो खानेकुरा खुवाउनाले कडा निमोनियाको खतराबाट मुक्त गर्न सकिन्छ । नियमित सुईको आवश्यकता पनि पर्छ । नेपालमा गत वर्षदेखि मात्र सुरु भएको पिसिभी खोप (महँगो तर सरकारले निःशुल्क उपलब्ध गराएको) शिशुलाई निमोनियाबाट जोगाउने अमूल्य उपहार हो ।

    १३. रुघाखोकी वा ज्वरो आउँदैमा जथाभावी एन्टिबायोटिक प्रयोग नगरेर सही पहिचान गरी सही प्रकारको एन्टिबायोटिक खुवाउने हो भने निमोनिया लागेको भए पनि सजिलै निको पार्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij