प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
म्याग्दी । जिल्लाको बेनी नगरपालिकामा स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउने क्रम बढन थालेका छन् ।
जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको हो । अहिलेसम्म १० भन्दा बढी घरटहरा निर्माण भएको बताइएको छ ।
बेनपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर कयौँ व्यक्तिले घडेरीे खरिद बिक्री समेत गरेका छन् भने तीन वटा घर निर्माण भइसकेका नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयवासिन्दाले जानकारी दिए । स्थानीयवासीले दिएको जानकारी अनुसार उनीहरूले आफूलाई अव्यवस्थित बसोबासीको रूपमा देखाइ सार्वजनिक र सरकारी जग्गा हडप्न लागेका हुन् ।
त्यसैगरी बेनपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार विस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयवासिन्दाले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ ।
जनश्रमदानबाट विद्यालय भवन निर्माण
समुदायको आँट र सरकारी निकायको सहयोग हुने हो भने विकास निर्माणका काम सजिलैसँग सम्पन्न हुँदा रहेछन् भन्ने उदाहरण म्याग्दीमा देखिएको छ ।
म्याग्दीको कुहु गाविस–८ थाइवाङमा सरकारी रकम कम भएपछि स्थानीयवासीले श्रमदान गरी थाइवाङ निमाविको तीन कोठे पक्की भनव निर्माण गरेर उदाहरणीय बनेका हुन् ।
भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले उपलब्ध गराएको रु सात लाख ५० हजारले नपुगेपछि ८८ घर परिवारको बसोबास रहेको थाइवाङ गाउँका स्थानीयले प्रतिघर २५ दिनका दरले करिब रु चार लाख बराबरको श्रमदान गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार पाइजाले बताए । अध्यक्ष पाइजाका अनुसार रु ११ लाखको लागतमा विद्यालय भवन निर्माण भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij