प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
नवलपरासी । जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ ।
जग्गा विवादमा आफ्ना बाबुको मृत्युुको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि निजका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उजुरी गरेका छन् ।
विसं २०५० अघि आफ्ना बाबुले खरिद गरेको जग्गाको स्वामित्व अहिलेसम्म पनि आफ्नो नाममा ल्याउन नसकेपछि शर्माले विषसेवन गरी विवादित जग्गामा रहेको आफ्नै गोठमा मृत्युवरण गरेको परिवारिक स्रोतले जनाएको छ ।
जग्गा आफ्नो नाममा नामसारी गर्न नसकेपछि तनावमा रहेका शर्मालाई केही दिनअघि स्थानीयवासी एकजनाले सो जग्गा आफूले खदिर गरेको कागज देखाएर प्रशासनमार्फत जग्गा खाली गर्न ढाडो उजुरी दिएपछि तनाव सहन नसकेर विषसेवन गरेको शर्माकी धर्मपत्नी गीता शर्माले बताइन् ।
विसं २०३८ पहिले पुनर्वास कम्पनीले स्थानीयवासी हरिबहादुर कुमाललाई दिएको एक बिगाहा जग्गा २०४० सालतिर हरिबहादुर कुमालले मृतक हरिप्रसाद शर्माका बाबु प्रजापति शर्मालाई भोगचलनको छोडपत्र गरी बिक्री वितरण गरेका थिए । पछि जग्गाको लालपुर्जा आउँदा बिक्री गरेका हरिबहादुर कुमालको नाममा आएको र हरिबहादुर कुमालले प्रजापति शर्मालाई पास गरी नदिएपछि जग्गाको किचलो सुरु भएको थियो ।
दुर्घटनामा मृत्यु
भारतीय गाडीको ठक्करबाट नवलपरासीमा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा गएराति एचआर३८यु ७१०४ नंको भारतीय ट्रकको ठक्करबाट पैदल यात्री नवलपरासी मध्यबिन्दु नगरपालिका–५ बस्ने मझुवा महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित अरुणखोला र दुम्कीबासबीचको जङ्गलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो भारतीय गाडीले पैदल यात्री महतोलाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij