प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
काठमाडौं । नेपाली फिल्मी क्षेत्रकी सदाबहार नायिकाको परिचय बनाएकी करिष्मा मानन्धरले कञ्चन शर्मा रेग्मीको पक्षमा आफ्ना केही भावनाहरु पोखेकी छिन् ।
आइतबार बिहानै लगभग ४ बजेतिर उनले आफ्नो फेसबुक स्टेटसमा कञ्चन जुन हालतमा पुगेकी छिन् त्यसमा परिवारको नै दोष भएको पुष्टि गर्न खोजेकी छिन् । ‘ब्युँझिए, केही मनमा लागिरा’थ्यो, लेख्दैछ’ भनी आफ्नो मनोवेगको शुभारम्भ गरेकी छिन् ।
कञ्चन शर्माको बारेमा सामाजिक संजालमा पढ्दा र हेर्दा मनमा अनेक कुरा खोलेको भन्दै उनले अहिले मानिसहरुबिच सहि गलत छुट्याउने होडबाजी चलिरहेको बताएकी छिन् । अमेरिकी राष्ट्रपति चुनावमा हिलारी क्लिंटन पराजय हुनुको कारण पितृसतात्मक समाजलाई उनले दोष दिँदै त्यही उदाहरण कञ्चनको जीवनमा लागु भएको देखाउन खोजेकी छिन् । उनी भन्छिन्, ‘हामीले जतिसुकै महिलाको हक अधिकारको र महिला सशक्तिकरणको कुरा उठाएपनि अझ पनि यो पुरुष सत्तात्मक समाज नै हो । विकसित देशमा पनि त्यहि देखिन्छ, हिलारी क्लिन्टनको पराजय त्यसको उदाहरण हो ।’
कञ्चन पक्कै पनि सुरुदेखि नै त्यस्ती होइनन् भन्दै उनले नेपाली समाजमा छोरी चेलीलाई कुन संस्कारमा हुर्काइन्छ त्यो सबैलाई थाहा भएको उनले बताएकी छिन् ।
कञ्चनका श्रीमान् मोहन रेग्मीमाथि प्रहार गर्दै उनले भनेकी छिन्, ‘आर्थिक रुपमा मात्र सहयोग गरेर पुग्दैन । उहाँहरुको श्रीमान् श्रीमतीको सम्बन्धमा भावनात्मक सम्बन्धको कमी देखिन्छ । खर्च व्यवहोर्नुले मात्र श्रीमानको कर्तव्य सकिँदैन ।’
सहरको बसाईं, श्रीमान् टाढाको जागिरे र दुईजना सन्तानको जिम्मेवारी र आफ्ना केही सपनाहरुमा सन्तुलन कायम गर्न नसकेपछि उनी कुलतमा फसेको हुनसक्ने उनले आशंका व्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘यस्तो अवस्थामा सायद भावनात्मक रुपमा साथ दिएको भए, माया दिएको भए, आज यो स्थितीमा हुँदैन थिइन् । परिवार र आफन्तले नै दुत्कारेपछि सायद उनी डिप्रेसनमा गइन् होला ।’
उनी यस्तो स्थितीमा पुगेपछि उनलाई दयामाया गरेर उनका श्रीमान र छोराहरुले रिह्याबमा राखिदिएको भए हुन्थ्यो भनी उनले आफ्नो भावना फेसबुकमा छताछुल्ल पारेकी छिन् ।
उनको फेसबुकको स्टेटस जस्ताको तस्तैः

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij