प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
नुवाकोट । नुवाकोट तारुका वडा नं.–१ चौतारागाँउमा गौरापार्वती सामुदायिक हस्पीटलको उद्घाटन गरिएको छ । सुरुवाती अवस्थामा ५ कोठा भवन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
करिब ६५ लाखको लागतमा निर्माण भएको उक्त भवनमा स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लरसहितको १७ सदस्यीय टिमले दुई हप्तादेखि हस्पिटल निर्माणको लागि शारीरिक परिश्रम समेत गरेको थियो ।
उक्त भवन उद्घाटन समारोहमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले हस्पिटललाई आगमी दिनहरुमा आवश्यक सहयोग गर्दै जाने बताए ।
उनले यस्तो महान काम गर्नको लागि नेतृत्वदायी भूमिका खेलेका वरिष्ठ पर्यटन व्यावसायी मोहन लम्साल, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी र स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लरको खुलेर प्रशंसा गरे ।
त्यस्तै कार्यक्रममा सांसद जगदिश्वरनरसिंह केसीले गाँउगाँउमा यस्ता हस्पिटलहरुको आवश्यकता बढ्दै गईरहेको परिप्रेक्ष्यमा हस्पिटल निर्माण भएकोमा खुसी व्यक्त गर्दै हस्पिटललाई अगाडि बढाउनको लागि नेतृत्व गरेका मोहन लम्साल, शिव अधिकारी र बर्नहार्ट बुल्लरसँग समन्वय गरेर उनीहरुलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा नुवाकोटका स्थानिय विकास अधिकारीले हस्पिटल जनताको स्वास्थ्यसँग जोडिएकाले आफुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा गौरापार्वती समुदायिक हस्पिटलका अध्यक्ष मोहन लम्सालले छोटो समयमै हस्पिटल निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा हस्पिटललाई सुविधा सम्पन्न बनाउनको लागि आफ्नो अग्रसरता जारी रहने बताए ।
उनले हस्पिटलको सेवा सुविधालाई थप गर्दै लैजाने र केही बर्षको अन्तरालमा हस्पिटललाई ठुलो आकार प्रदान गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष तथा गौरापार्वती समुदायिक हस्पिटलका बरिष्ठ उपाध्यक्ष शिव अधिकारीले आफ्नो हस्पिटल बनाउने महान अभिलासालाई छोटो समयमै निर्माण गर्नको लागि संयोजनकारी भूमिका खेल्ने वरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्साललाई तारुकाबासीको तर्फबाट बिशेष धन्यबाद प्रकट गरे ।
उनले स्वीट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लरको निरन्तर सहयोग तारुकामा रहनेमा आफू आशावादी रहेको समेत बताए ।
कार्यक्रममा हेल्पिङ हेण्ड कम्युनिटी हस्पीटलका कार्यकारी अध्यक्ष मुक्तबहादुर श्रेष्ठले हस्पिटल सञ्चालनको लागि स्थानिय जनसहभागिता आवश्यक रहेको बताउँदै आफूले भरपुर रुपमा हस्पिटललाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा तारुका लगायतका क्षेत्रका स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij