प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
मानिसमा संक्रमण हुने सरुवारोगहरू हावा, पानी, लामखुट्टे (कीटजन्य) आदिबाट सर्ने गर्छ । हावा, पानी तथा कीटजन्य रोगहरूको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि लक्षण देखिने अवधिसम्मलाई बुझाउँछ । रुघाखोकी, इन्फ्लुइन्जाजस्ता हावाबाट सर्ने रोगहरू छोटो इन्कुभेसन समयका हुन्छन् । तर, हावाबाट सर्न सक्ने टिबी, ठेउला, दादुराजस्ता सरुवारोगहरूको जोखिम भने उत्तिकै देखिन्छ । विशेषगरी, सामूहिक बसाइको समयमा अन्य स्वस्थ व्यक्तिमा रोग सर्न सक्ने सम्भावना बढी रहन्छ ।
सरुवारोगको जोखिमबाट मुक्त हुन व्यक्तिगत सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिमा पनि पानीजन्य समस्याको प्रकोप उच्च हुने गर्छ । जस्तै– टाइफाइड नेपालीहरूका लागि परिचित रोग हो । यो पनि पानी र दूषित खानाबाट सर्ने रोग हो । खासगरी उच्च ज्वरोका लक्षणहरू लिएर आउने बिरामीहरूमा यसको सम्भावना बढी देखिन्छ । सामूहिक रूपमा खानपान तथा शौचालयको प्रयोगले प्रकोपको सम्भावनालाई जीवितै राखेको देखिन्छ । झाडापखाला नेपालमा बर्सेनि देखिने अर्को प्रमुख समस्या हो । हैजाबाहेक झाडापखाला अन्य ब्याक्टेरिया, प्रोटोजोवा, भाइरसजस्ता जीवाणुका कारणले पनि हुन सक्छ । नेपालमा झाडापखालाको कारणबारे विस्तृत अध्ययन खासै भएको पाइँदैन, या भनौँ चासो दिइएकै छैन । सिंगेला, सालमोनेला, कम्पालो ब्याक्टेरिया, इकोलाईजस्तो ब्याक्टेरिया पनि झाडापखाला गराउनमा महत्वपूर्ण भूमिका देखिन्छ । त्यस्तै, इहिस्तोलाइटिका, जिर्याजियासिसजस्ता प्रोटोजोवा जीवाणुहरू नेपालमा व्यापक देखिन्छ । रोटाभाइरस, नोरोभाइरस, सापोरो भाइरस, एस्ट्रोभाइरसजस्ता भाइरस पनि झाडापखाला गराउनमा प्रमुख भूमिका खेलेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
कसरी बच्ने ?
सफा साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने ।
सधैँ उमालेको शुद्ध पानी मात्र पिउने ।
बासी खानेकुरा नखाने ।
घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने ।
बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना नखाने ।
फोहोर र झिँगा भन्केका खानेकुरा नखाने ।
नपाकेको मासु, खानालगायत खानेकुरा नखाने ।
फलफूललाई सफा पानीले धोएर खाने ।
खानेकुरालाई राम्ररी छोपेर राख्ने ।
भरसक ताजा खाना खाने ।
कुनै पनि संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।
संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्री अन्य व्यक्तिले निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने ।
भीडभाडमा कम जाने ।
तातो झोलयुक्त खानपान प्रशस्त मात्रामा सेवन गर्ने ।
पानीको संक्रमणबाट हुने रोग
पानीबाट सर्न सक्ने रोगहरू विशेषगरी टाइफाइड, हेपाटाइटिस (ए र ई), झाडापखाला, लेप्टो स्पाइरोसिसहरूको सम्भावना रहन्छ । हैजा पनि संक्रमित पानीको उपभोग गर्दा नै सर्न सक्छ । अहिले स्वदेशी तथा विदेशी विशेषज्ञहरूले पनि हैजाबाट हुन सक्ने महामारीलाई ध्यान दिएको देखिन्छ । हैजाले केही घन्टामा नै बिरामीलाई मृत्युको मुखमा पुर्याउन सक्छ । त्यसैले यसलाई अरू झाडापखाला गराउने रोगभन्दा विशेष निगरानी राख्नुपर्ने हुन्छ । गत वर्ष गएको महाभूकम्पले क्षतविक्षत बनाएको संरचनाको कारण एउटै पानीको स्रोत तथा शौचालयको प्रयोगले पानीजन्य रोगको सम्भावनालाई अझ बढाएको देखिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij