मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हरिवंश र रमिलाको दाम्पत्य कथा

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • अलिक अघि उनको वियोगले धेरैलाई पिरोल्यो। लोकप्रिय हास्य अभिनेता हरिवंश आचार्यकी पत्नी मीराको निधन समाचारमा आयो, उनको आफ्नै ‘बेस्ट सेलर’ जीवनी पुस्तकमा आयो र सबैभन्दा बढी त यो पीडा घर–घरमा चर्चाको विषय बन्यो।
    अर्को जन्ममा आफू देउता बन्ने र अहिले भएका देउताहरूलाई मानिस बनाएर दुःख दिँदै बदला लिने भावको उनको कविताले पनि पीडाको गहिराइ छाम्न सकिन्थ्यो।
    अब भने दृश्य विस्तारै फेरिन थालेको छ।
    साढे चार वर्षअघि रमिला पाठकसँग जोडिएपछि आचार्यको जीवनको दोस्रो इनिङ सुरु भयो। पछिल्लो समय सार्वजनिक जमघट वा समारोहहरूमा देखिने यो जोडीका लोभलाग्दा तस्बिरहरू आफैंमा सम्भावना उजागर गर्ने कथाजस्ता देखिन्छन्।
    यही जिज्ञासा लिएर यो साता सेतोपाटी नयाँबजारस्थित आचार्य निवास पुगेको थियो। त्यतिबेला यो जोडीले आफ्नो कथा यसरी सुनाए–
    हरिवंश–
    हामी दुवै जना वियोग सहेका मानिस पर्यौं। दुई जनै एक्लो भएर नै हामी दोक्लो भएका हौं। त्यो एउटा उदय सोताङले गाएको गीत छ नि,
    ‘आधि बाटो हिँडेपछि तिमीसँग भेट भयो, 
    जिन्दगीको हाम्रो यात्रा त्यहीँबाट सुरु भयो, 
    आधि बाटैमा’ 
    त्यो गीत हामीलाई हेरेरै लेखेजस्तो लाग्छ। परिस्थितिले नजिक्याएर हामीलाई यसरी एकठाउँ ल्याइदियो। उसलाई मैले कहिल्यै देखेको पनि थिइनँ। हामीले कहिल्यै सोचेका पनि थिएनौं। ‘लेखेको हुन्छ देखेको हुँदैन’ भनेजस्तै सोच्दै नसोचेको कुरा पनि जीवनमा हुँदोरहेछ।
    म एक्लै बस्न जन्मेको मान्छे नै होइन। संसारमा जुन ठाउँ गए पनि दिनको एकचोटि मीरालाई फोन गर्थें। अझ सुत्ने बेला राति ‘अब ऊ बेडमा गयो होला’ भन्ने भएपछि फोन गर्थें। मैले फोन गरेपछि नै उसलाई पनि निन्द्रा लाग्थ्यो।
    एउटा बाटो हिँड्दा–हिँडदै त्यहाँ पहिरो गयो, बाटो थुनियो। बाटो थुनिएपछि मानिस निसासिन्छ। तर, मेरो जीवनमा फेरि अर्को बाटो खुल्यो। यो अर्को बाटोमा उसलाई (छेउमा बसेकी श्रीमतिलाई स्पर्श गर्दै) भेटेँ, हामी सँगै हिँड्न थाल्यौं।
    मीराको निधनपछि मलाई उसँग बिताएको बुढानिलकण्ठस्थित घरमा बस्न मन लागेन। बालकोटमा अर्को घर सरेँ। त्यो असाध्यै फराकिलो र अनुकूल थियो। तर, अलिक टाढा भयो। म कामले सहर आइरहनुपर्ने। रमिला एक्लै होला भन्ने चिन्ताले जहिल्यै सताउने।
    ‘तँ त साह्रै नै बिग्रिस् बद्री’ सिनेमाबाट मुनाफाको पैसाले मैले नयाँबजारमा उतिबेलै चारआना जग्गा किनेको थिएँ। अहिले फराकिलो बाटोले यसको व्यावसायिक महत्व असाध्यै बढेको छ। त्यसै हिसाबले घर बनाएर भाडामा दिएको थिएँ।
    मलाई काम गर्दागर्दै एक–दुई घन्टा फुर्सद भयो भने पनि घरमा आएर समय बिताउन मन लाग्छ। बालकोटको घर बिहान निस्केर राति मात्रै फर्कनेहरूका निम्ति गजब थियो। म त परिवारबाट टाढिएपछि निसासिन्छु। यस्तो अवस्थामा यही नयाँबजारको घरलाई आफू अनुकूल बनाएर सरेका हौं।
    हामी सानो परिवार, त्यसमाथि थोरै मात्र नेपालमा छौं। उसको २५ वर्षे छोरा अस्ट्रेलियामा इन्जिनियरिङ स्नातकोत्तर गरिरहेको छ। मेरो ठूलो छोरा अमेरिकामा गुगल कम्पनीमै सफ्टवेयर इन्जिनियर छ। काठमाडौंमै रेस्टुरेन्ट व्यवसाय चलाइरहेको सानो छोरा मोहित बिहान उठेर गएपछि राति अबेर मात्र आउँछ।
    यो सबैले गर्दा उनी एक्लै हुन्छिन्। यसरी एक्लै नबस्नकै लागि त हामीले जिन्दगीलाई फेरि जोडेका हौं नि। हैन?
    बाहिर जता जाँदा पनि सँगसँगै लिएर हिँडछु। नेपालमै पनि बेलुकीका कार्यक्रमहरूमा ऊ गइदियो भने एकदमै खुसी लाग्छ। सहज पनि लाग्छ।
    विशेष परिस्थितिमा एउटा भएका हामी दुई जना यसरी हिँडिदिँदाखेरि समाजमा हामीजस्ता अरूलाई पनि नैतिक बल मिलोस् भन्ने पनि लागिरहेको हुन्छ।
     
    जीवनमा दोस्रो बिहे हुन्छ भन्ने कल्पनै गरेको थिइनँ।
    मेरो पहिलो श्रीमानसँगको घरजम सबै हिसाबले राम्रो थियो। नेपाली कागजका हस्तकलाको व्यापार गर्नुहुन्थ्यो। व्यापारकै सिलसिलामा उहाँसँग पनि एकपटक युरोप पुगेको थिएँ। हाम्रो छोरा पनि भयो। छोरा नौ वर्षको हुँदाताका एकदिन अचानक उहाँको ‘ब्रेन–हेमरेज’ भयो। यो करिब १५ वर्षअघिको कुरा हो। उहाँलाई त्यसअघि रोगव्याधि केही थिएन। अत्यन्त सामान्य अवस्थामा रहनुभएका श्रीमानलाई एकैचोटि अचानक यस्तो भएपछि बिएन्डबी अस्पताल लगेका थियौं। त्यहीँ मृत घोषणा गरियो। त्यसपछि त सबै कुरा अर्को भयो।
    त्यसो त परिवारमा धेरै सदस्य रहेकाले म एक्लै बस्नु परेको थिएन। माइतमा बुबाआमा र दाजुभाइहरूसँगै बस्थेँ। दिदीहरू सबैको माया पाएकै थिएँ।
    कमै उमेरमा यसरी विधवा भएकी छोरी भनेर बुबाहरूलाई चाहिँ सधैं पीर लाग्दो रहेछ। तर, मेरो अगाडि नै चाहिँ कहिल्यै त्यस्तो कुरा गर्नुभएन। अरू कसैले बिहेका कुरा झिक्दा पनि ‘यस्ता कुरा गर्दै नगर्नु’ भनेर पन्छाउन खोज्थेँ।
    यसै क्रममा बसु अन्टी (अभिनेत्री बसुन्धरा भुसाल) ले कुरा ल्याउनुभयो। उहाँ हाम्रो नातेदार हो। उहाँले मलाई पहिलेदेखि छोरीजस्तो माया गर्नुहुन्थ्यो।
    ‘मैयाँ यसरी बस्नु हुँदैन है’ भन्न थाल्नुभयो। म चाहिँ ‘यस्तो कुरा नगरिस्यो आन्टी’ भनेर टार्न खोज्थेँ। पछि बसु आन्टीले यो कुरा मेरो बुबाममीसँगै गरिदिनुभएछ। बुबाममीले ‘हामीलाई त इच्छा छ, तर उसैलाई सोध्नुपर्छ’ भन्नुभएछ।
    पछि परिस्थिति यसरी विकास हुँदै आयो, सबै जना मिलेर मलाई सम्झाउन पो थाले। मैले त यस्तो केही सोचेकै थिइनँ।
    मुख्य कुरा त दुई जना उस्तै उस्तै पनि भयौं। एक्लै एक्लै बाँचिरहेका। यसो सोच्दै जाँदा हुन्छ नै भन्ने लागेपछि ‘ठीक छ’ भनेर जवाफ दिएँ।
    (दुवै जना आँखा जुधाएर हेर्दै मुस्काउन थाले)
    त्यसैबीच हरिवंशले सोधिहाले, ‘मलाई पहिलोचोटि भेट्दा कस्तो लाग्यो त भनिदेउ न?’
    श्रीमतिको तत्काल जवाफ थियो, ‘मलाइ त डरडर जस्तो लागेको थियो।’
     
    हरिवंश–
    बसुन्धरा दिदीलाई म २०३१ सालदेखि नै चिन्छु। उहाँ त्यतिबेला साँस्कृतिक संस्थानमा सिनियर आर्टिस्ट हुनुहुन्थ्यो। हामी जुनियर थियौं। मलाई असाध्यै माया गर्ने भएकाले काम मात्र नभएर पारिवारिक हिसाबले नै उहाँसँग सहोदर भाइजस्तै नजिक थिएँ।
    मीराको निधन भएपछि उहाँले नै ‘यसरी त बस्नु हुँदैन। फेरि सेटल हुनुपर्छ’ भन्दै आउनुभएको थियो। सुरुमा मलाई यस्तो कुरा अप्ठेरो लाग्थ्यो। त्यतिबेला मेरो उमेर ५४ पुगिसकेको थियो। यो उमेरमा…हत्तेरिका… भनेजस्तो! अलिक लाज लागेजस्तो भइरहेको थियो।
    पछि मेरा दिदीहरूले पनि असाध्यै कर गर्नुभयो। सबैतिरको कुरा सुनेपछि मन बनिरहेकै बेला बसुन्धरा दिदीले ‘तिमीले सोचेको जस्तै मान्छे भेटेको छु, एकपटक आएर त हेर’ भन्नुभएपछि बोलाएको ठाउँमा गएँ। गएँ पनि कसरी भन्ने? सुरुमा त यस्तो उद्देश्यले जाँदैछु भन्ने मनमा भएपछि घरबाट पाइला उठाउनै मुश्किल परेको थियो।
    यसरी म गोंगबुस्थित उसको दिदीको घरमा पुगेको थिएँ। पुग्नेबित्तिकै ढोकै उसैले खोलेकी थिइन्। फोटो देखिसकेकाले मैले चिनिहालेँ। ढोका खोल्नासाथ नमस्ते गरिन्। देख्नेबित्तिकै मलाई पनि ‘अपियरेन्स’ राम्रो लाग्यो।
    हामीलाई सँगै बसेर कुरा गर्न लगाइयो। मैले आफ्नो कुरा राख्नेबित्तिकै उनले ‘मैले हजुरको घर सम्हाल्न सक्छुजस्तो लाग्छ?’ भनेर सोधिन्। त्यतिबेलै एक किसिमको सकारात्मक प्रभाव आइसकेको थियो।
    मैले ‘लाग्छ’ भनेर जवाफ दिएँ।
    मलाई त्यतिबेला रमिला र उनको कुरागराइ मात्र होइन, त्यो परिवार र त्यहाँको सम्पूर्ण गतिविधिले नै प्रभाव पारिरहेको थियो।
    यसरी दोस्रो बिहेको कुरा चल्नुअघि हरिवंश मानसिक हिसाबले समेत विचलित भइसकेका रहेछन्। उनले त्योबेलाको सम्झना पनि यसरी गरे–
    मीरा बितेपछि म असाध्यै एक्लो फिल गर्थेँ। अमेरिकाबाट आएको ठूलो छोरा पनि केही महिनामै फर्केर गयो। सानो छोरा र म मात्र घरमा थियौं। एक जना पनि छोरीमान्छे नभएको घर।
    मैले अघि नै भनिहालेँ म एक्लो बस्नका निम्ति जन्मेकै होइन। समस्या बढ्दै गएपछि मैले एक जना मनोचिकित्सकलाई पनि सम्पर्क गरेँ। डाक्टरले पनि यस्तो अवस्थामा दुई वर्षजति त असाध्यै गाह्रो हुने बताए। ‘त्यसपछि अलिक सहज त हुन्छ तर त्यतिबेला पनि सकभर एक्लै नबस्नुस्’ भनेका थिए।
    त्यतिबेला म बिस्तारै रक्सीको लतमा पनि फस्दै जान थालेँ।
    त्यतिबेलै अर्को सोचाइले धकेल्न थाल्यो। जिन्दगीमा कामधन्दा सबै छाडेर शोकमा मात्र रुमलिएर हिँड्दा आफू त यस्तो हालत भयो भयो, छोराहरूको भविष्य, दिदीहरूको भावना सबै बिग्रन्छ।
    त्यतिबेला मदन दाइले पनि बारम्बार ‘तिम्रो अझै उमेर बाँकी छ, निर्णय लेउ’ भनेर सम्झाएपछि म बल्ल बिहेको पक्षमा सकारात्मक भएको थिएँ।
    यस्तो अवस्थामा बसुन्धरा दिदीको पहलले बिहे पक्का भएको थियो। अबको गाह्रो भनेको जन्ती कसरी जाने? दुलहा भएर घरबाट निस्कने क्षण मेरो निम्ति जिन्दगीको सबैभन्दा गाह्रो समय भयो।
    त्यसैले, दस–पन्ध्र जना मात्र सरिक भएर हामी निस्केका थियौं। बिहे गरेर ल्याइसकेपछि हामी दुई जना घरभित्र पस्यौं। छोराहरूले मुखमा टुलुटुलु हेरिरहेका थिए। उनीहरूलाई पनि मानसिक रूपले तयार हुन गाह्रो थियो। छोराहरूकै साथ लागेर आफूले यसो गरे पनि त्यतिबेला हामी सबै एकदमै गाह्रो परिस्थितिमा थियौं।
    अहिले आएर सोच्छु, त्यतिबेला मेरा छोराहरूलाई त बुबाको बिहे गराउनु गाह्रो काम थियो भने अझ उनको छोरालाई त आमाको बिहे गराउन कस्तो भयो होला? तर, आधुनिक सोचाइ भएका र दुःख बुझ्ने छोराहरूले नै त्यो कुरालाई अगाडि बढाउन मद्दत गरे।
    बिहे गरेर ल्याइसकेपछि मलाई अर्को एकदमै गाह्रो प्रश्नले गिजोल्न थालेको थियो। केही गरी मेरी श्रीमति र छोराहरूको मिल्ती भएन भने के गर्ने? त्यस्तो बेला कसको पक्ष लिने मैले?
    तर, मैले सोचेभन्दा एकदमै बेग्लै भइदियो। उनले यो घर, परिवार र मलाई यस्तरी ममता बाँडिन्, अहिले आएर आफूजत्तिको भाग्यमानी कोही छैन जस्तो लाग्न थालेको छ।
    आज मेरो डुबिसकेको घरपरिवार फेरि सम्हालिएको छ। शारीरिकभन्दा मानसिक हिसाबले काम गर्नुपर्ने म आफैं सम्हालिएको छु। सोच्नै सकिएन, सिर्जना नै गर्न सकिएन भने मैले गरिरहेको कामको अर्थै हुन्न थियो। मैले यो क्षेत्र नै छोडिसकेको हुन्थेँ।
    यो सबै कुराबाट कृतज्ञ भएकैले हिजोआज जहाँ जाँदा पनि मलाई उसँगै जान मनलाग्छ। समाजलाई देखाउन मनलाग्छ। शोक मात्र गरेर बसेर पनि भएन, यसरी पनि हिँड्न सकिन्छ भन्ने सन्देश पनि हुन्छ। मनमा पीडा त हुन्छ नि, उसलाई पनि पीडा छ, मलाई पनि पीडा छ।
    पहिलो प्रेमलाई भुल्छु भनेर कसले पो भुल्न सक्छ? तै पनि त्यो आफ्नै ठाउँमा हुँदो रहेछ र यो पनि आफ्नै ठाउँमा भयो। यो दुईवटालाई तुलना गरेर कुनचाहिँ ठूलो भन्न सकिन्न। दुइटै ठूलो हो मेरो लागि।
    यति सुनेपछि मैले ‘दुवैले दोस्रोपटक बिहे गरेको अवस्थामा सुरुमा नजिकिँदा केही संकोच त भयो होला नि? त्यो अवस्था कसरी तोडियो?’ भन्ने प्रश्न गरेँ।
    हरिवंश–
    क्र्यास हुनै लागेको प्लेनलाई मजाले रनवेमा अवतरण गराइदिने पाइलटले जस्तै उनले मेरो घर सम्हालिदिइन्। हामी सबै यात्रीलाई सुरक्षित पारिदिइन्। र, तपाईंले सोध्नुभएको ‘एङ्जायटी ब्रेक’ पनि यसैले गरिदियो। उसको व्यवहारले नै मलाई झन् पछि झन् उसँग नजिक बनाउँदै लग्यो। अहिले त मलाई उनी श्रीमति मात्र नभई मेरो अभिभावक नै हो जस्तो लाग्न थालेको छ। मलाई डर भनेको कसैको पनि लाग्दैन, केवल उनको मात्र लाग्छ। त्यो डर भनेकै अनुशासन हो। म उनलाई जति रेस्पेक्ट गर्छु त्यति नै उनले पनि साथ दिइरहेको हुन्छ। र, यसले नै सम्बन्धलाई झन्झनै नजिक पार्दै लगिरहेको छ।
    रमिला–
    म पनि आमा भइसकेको मान्छे। मेरो छोरालाई कस्तो दुःख छ, कस्तो भोगेको छ, त्यस्तै यहाँ पनि छोराहरूलाई परेको होला भन्ने त बुझिहाल्छु नि। मैले फरक राखेर यी छोराहरूलाई सोच्दै सोचिनँ। त्यस्तो सोच नै आएन। दोस्रो बिहे गरेपछि सुरुसुरुमा अलिअलि संकोच त भइहाल्छ नि। भयो र समय लाग्यो हामीलाई नजिकिन।
    हरिवंश–
    समाजले नचिन्ने मान्छे भइदिएको भए यस्तो त कतिले गरेका छन् केही फरक परेको छैन। तर, म त संसारको आँखामा परेको मान्छे भएकोले सबैको नजर मेरा प्रत्येक कदममा हुन्छन्। म एक्लै हिँड्दा त मानिसले नियालिरहेका हुन्छन् भने मेरी श्रीमति बितेको कुरा त संसारैलाई थाहा छ। मैले दोस्रो विवाह गरेको पनि सबैलाइ थाहा छ। त्यसले सबैको चासोबाट हामी गुज्रिनुपर्यो। मैले गलत गरेको भएदेखि मलाई मनपराउने दर्शकहरू एउटै कुराले एकै छिनमा टाढिन्थे। मान्छेलाई कुनै पनि कुरा कमाउन पो गाह्रो हुन्छ, गुमाउन त समय नै लाग्दैन। त्यस्तो परिस्थितिमा सबैले हामीलाइ हेर्थे। अहिले पनि हेर्छन्। देख्नेबित्तिकै खासखुस कुरा गर्छन्। हामीले कुरा नसुने पनि वरपरका गतिविधि हेरेरै हाम्रा बारेमा कुरा गरिरहेका छन् भन्ने थाहा हुन्छ।
    यस्तो बेला मलाई एउटा प्रसंगको सम्झना हुन्छ। हाम्रो बिहे भएकै ताका ट्राफिक प्रहरीले मापसे चेक सुरु गरेको थियो।
    त्यसताका सबैलाई हरिवंशले कस्तो केटी बिहे गरेछ भन्ने जिज्ञासा हुन्थ्यो। म बालकोटमा बस्थेँ। आवतजावत गर्दा ट्राफिकहरूले गाडी रोक्थे। मसँग ‘लाइसेन्स छ? बिलबुक छ?’ भनेर सोध्थे। ‘सरले त्यस्तो केही खानुभएको त छैन?’ भनेर सोध्थे। कुरा मसँग गर्ने, आँखा चाहि सबैको मेरी श्रीमतितिर हुन्थ्यो। बहाना चेकिङको भए पनि उद्देश्य चाहिँ ‘यसले कस्ती श्रीमति पाएछ’ भनेर नियाल्ने देखिन्थ्यो। मसँग कुरा गरेजस्तो गर्दै आँखा चाहिँ उता।
    (यतिञ्जेल कोठामा हाँसोको फोहरा छुटिसकेको थियो)
    हिजोआज पनि कतै कतै प्रहरीले रोक्दा ‘दाइ अनि भाउजुको घर चाहिँ कता नि?’ भनेर सोध्छन्। ‘बुटवल रे नि होइन?’ भन्दै प्रतिप्रश्न पनि उनीहरूले नै गर्छन्।
    सुरुसुरुमा त जता जाँदा पनि मानिसले हामीलाई नियालेर हेरिरहँदा खुट्टा लर्बराएजस्तो हुन्थ्यो। हिँड्दा केही नमिले नमिलेजस्तो हुन्थ्यो। तर, ती चिज अब बिस्तारै सिद्धिए। अब कुनै भोजभतेरमा जाँदा मसँग मात्र फोटो खिचेर मानिसलाई चित्त बुझ्दैन। ‘भाउजु पनि आउनुस्, भाउजु पनि आउनुस्’ भनेर बोलाउन थालिहाल्छन्।
    बिहे गरेको चार वर्ष नाघ्यो। अहिले पनि विदेशमा दुई जना सँगै जान्छौं। यसबीच हामीले कम्तीमा २०–२५ वटा मुलुक सँगै घुमिसकेका छौं। उसलाई एकछिन पनि छोड्न मनलाग्दैन मलाई। अमेरिकाबाट अस्ति मात्र फर्केका हौं। त्यहाँ पासा पुचः भन्ने संस्थाको २५ औं वार्षिकोत्सव मनाउन मदनदाइ र मलाई बोलाइएको थियो। उनीहरूले नै ‘भाउजुलाई पनि ल्याउनुपर्छ है’ भनेर बोलाए। उतैबाट उसलाई पनि टिकट पठाइदिए। अर्थात् मेरी अर्धांगिनी मसँगै उपस्थित हुनुपर्छ भन्ने चाहना अब आमदर्शकले नै राख्न थालिसकेका छन्।
    यस्तो बेला श्रीमतिलाई कस्तो महशुस हुन्छ?
    रमिला–
    सबै जनाले असाध्यै श्रद्धा गरेको देख्दा रमाइलो लाग्छ। ‘भाउजुलाई कस्तो भेट्न मन लागेको थियो’ भन्दै महिलाहरू भेट्न आउनु हुन्छ। ‘दाइलाई फेरि पुरानै अवस्थामा ल्याइदिनुभयो’ भन्छन्। सबैले सकारात्मक हिसाबले हेरेको देख्दा राम्रै गरिएछ भन्ने लाग्छ।
    हरिवंश–
    हाम्रो समाज फेरि कस्तो भने म एकल पुरुष भए पनि मैले एकल महिलालाई बिहे गर्न हुँदैन भनेर कतिपयले सोच्थे। कन्या केटी नै बिहे गर्नुपर्छ भन्ने सोचिँदो रहेछ।
    यति धेरैको माया पाएको मानिसले केही गर्दा आफू उदाहरण भएर देखाउनुपर्छ भन्ने पनि मेरो मनमा लाग्थ्यो। यस्तो धारणा दृढ नभएको भए यो विवाह त्यति सजिलोसँग हुने थिएन र समाजले यति सजिलोसँग स्वीकार्ने पनि थिएन। कतिपय रुढीवादीहरूले पनि ‘ए फलानोले यसो गरेको छ, त्यसैले गर्न मिल्ने रहेछ त’ मात्र भनिदिए पनि एउटा सफलता मिलेको महशुस हुन्छ।
    मैले बिहे नभएको केटी खोजेर हिँडेको भए पक्कै पाउने थिएँ। तर, त्यसो गर्दा मलाई सन्तुष्टि मिल्दैन थियो। त्यसैले, मैले गरिनँ। र, आज त्यसको परिणाम मैले राम्रै पाइरहेको छु। समाजले पनि राम्रो दृष्टिले हेरिरहेको छ। हाम्रोजस्तो समाजमा यसले राम्रै सन्देश पनि गयो कि जस्तो लागिरहेको छ।
    फेरि अर्को कुरा के भने प्रायः सबैजसो पुरुषले श्रीमति बित्नेबित्तिकै बिहे गर्छन्। तर, महिलाहरूले चाहिँ श्रीमान् बित्नेबित्तिकै जीवनभरि कुण्ठित भएर बस्नुपर्छ। यस्तो नमिल्दो रीति तोड्न पनि जरुरी थियो।
    श्रीमान्–श्रीमतिको विषयमा कुरा हुँदै थियो। त्यसैले हामीले कतिपय अन्तरंग कुरा पनि जान्ने कोशिस गर्यौं–
    खाना कुर्ने गर्नुभएको छ?
    रमिला– कुर्छु। तर, खासै धेरै कुर्नुपर्दैन।
    हरिवंश– यो कुर्ने–नकुर्ने भन्दा पनि एक्लै खान मनलाग्दैन रहेछ। त्यही भात एक जना बसेर खाँदा जति मिठो भए पनि दुई जना बसेर खाँदा डबल मिठो लाग्छ।
    लुगा कसले किन्छ?
    हरिवंश– (श्रीमतितर्फ हेर्दै) तिमी भन।
    रमिला– प्रायः त मैले नै हो।
    हरिवंश– म त केही पनि किन्दिनँ। उसैले किनिदिएको मनपर्छ। उसको च्वाइस राम्रो छ।
    खाना पकाउनु हुन्छ?
    रमिला– एकदम। भान्छामा त खुबै जाँगर चलाउनुहुन्छ। बेलाबेला पकाएर खुवाउनुहुन्छ।
    के पकाउनु हुन्छ?
    हरिवंश– म जे पनि पकाउँछु। विशेष गरिकन चिकेनका आइटम बढी बनाउँछु। तेलै नराखेर फ्राई गर्ने एउटा मेसिन किनेका छौं, त्यसमा म फ्राई गरिरहन्छु। उनले पनि मलाई काम अह्राइरहन्छिन्।
    स्वास्थ्य कस्तो छ?
    हरिवंश– प्रेसरको चाहिँ औषधि खान थालेको २० वर्ष भयो। त्यसबाहेक अरू कुनै समस्या छैन। दैनिक एक घन्टा मर्निङवाक गर्छु।
    पिउनु हुन्छ?
    हरिवंश– जुन पायो त्यो ठाउँमा अल्कोहल खाँदिन। तर, मन मिलेको ठाउँमा एक–दुई पेग जान्छ। पहिल्यै उनले दुई पेगभन्दा बढ्ता नखानु है भनिहाल्छिन्। खान हुँदैन भन्छिन्।
    कति पिउनु हुन्छ त?
    हरिवंश– तीन पेग हो।
    हो त भाउजु?
    रमिला (हाँस्दै)– त्यस्तै हो।
    हरिवंश– थप्नु परेमा पनि फिफ्टिन एमएल मात्र हो। बरु फेरि थप्दा पनि फिफ्टिन एमएल। सबै गरेर बढीमा तीन पेग हो।
    श्रीमतिलाई भने अहिलेसम्म कुनै औषधि खानुपरेको रहेनछ।
    हरिवंश– खासमा उनी एकछिन पनि चुप लागेर बस्दिन। चलिरहन्छिन्। माथि तल। केही न केही गरिरहनुपर्छ। त्यसैले फिट छिन्। उनी फिट भएकैले मलाई पनि तानेर फिट गराउँछिन्। मभन्दा १४ वर्ष कान्छो मानिसले मलाई पनि आफूजस्तै बनाउँदैछ। आफ्नो अगाडि बूढो देखिएला, उसलाई नसुहाउला, बाटोमा हिँड्दा ‘अंकल हो’ भनेर सोध्देला भन्नेमा खुबै पीर छ…
    हामी हाँस्न थाल्यौं। श्रीमतिले मुख बिगारिन्।
    बिहेभन्दा अघि एकअर्कालाई चिन्नुहुन्थ्यो?
    हरिवंश– थिएन।
    रमिला– जसरी अरू दर्शकले चिन्छन् त्यसैगरी चिन्थेँ।
    हरिवंश (बीचैमा बोल्दै)– हरिवंशे भन्थ्यो होला।
    फेरि हाँसो फैलियो।
    सारा दुनियाँलाई हँसाउने मान्छे, भाउजुलाई कति हँसाउनुहुन्छ?
    रमिला– हँसाउनु हुन्छ। म पनि हँसाउँछु।
    तपाईंले चाहिँ के गरेर? काउकुती लगाएर हो?
    हरिवंश– नमिल्ने नमिल्ने कुरा गर्छ अनि मलाई हाँसो उठ्छ के।
    (फेरि हाँसो फैलियो)
    बिहेको साढे चार वर्षयता हाँसेको सबैभन्दा उल्लेखनीय क्षण?
    रमिला– अस्ति भर्खर अमेरिकाबाट आएपछि रातको दुई बजेतिरै ब्युँझनु भयो। त्यसपछि निन्द्रा लागेनछ। उठाएर आफूले लेखेको सिनेमाको स्क्रिप्ट सुनाउनुभयो। बिहान पाँच बजेसम्मै। म त हाँसेको हाँस्यै भएँ। त्यो अलिकति बाँकी नै थियो। आज बिहान सुनाएर पूरा गर्नुभयो।
    हरिवंश– हिजोआज लेखेको कुरा पहिले उसैलाई सुनाउने गरेको छु।
    यो संवादमा झन्डै डेढ दशकपछि हरिवंशका तर्फबाट सिनेमा आउन थालेको जानकारी पनि मिल्यो। ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ र ‘जे भो राम्रै भो’ पछि उनले सिनेमा बनाएका थिएनन्।
    कसरी बन्दैछ यो सिनेमा?
    हरिवंश– मह सञ्चारमा हामीसँग झन्डै १३ वर्ष काम गरेका प्रदीप भट्टराईलाई हामीले फिचर फिल्ममा पनि ब्रेक दिने सोचाइ बनाएका थियौं। तर, यसबीच स्टेजका कार्यक्रमहरू बढी भएकाले यतातिर भ्याउन सकिएन। प्रदीपले आफ्नो पहिलो सिनेमा ‘जात्रा’ बनाइहाले। अब उनैले बनाउने दोस्रो सिनेमा चाहिँ मेरो हुनेछ। प्रदीप एक साता जतिमा मुक्त भएपछि उनीसँग मदनदाइ लगायत बसेर यसको काम थाल्दैछौं।
    कुराकानीकै क्रममा हरिवंशले पहिलोपटक उपन्यास ‘हरिबहादुर’ लेखिरहेको जानकारी पनि दिए। ५२ श्रृंखलामा देखाइएको ‘मदनबहादुर हरिबहादुर’ कै केन्द्रीय पात्रलाई लिएर लेखिएको यो उपन्यास दुई–तीन महिनामै सार्वजनिक हुने उनले बताए।
    यसबीच आचार्य परिवारभित्र केही शुभ साइत भित्रिसकेका छन्। अमेरिकास्थित जेठो छोराको बिहे उतैकी नागरिकसँग केही महिनाअघि भइसकेको छ। त्यतिबेला हरिवंश र रमिला उतै पुगेर बाआमाको कर्तव्य पूरा गरेका थिए।
    त्यसैगरी भर्खरै कान्छो छोराको टिकाटालो पनि सम्पन्न भएको छ। हुनेवाली कान्छी बुहारीलाई छोराभन्दा सासू मनपरेको प्रतिक्रिया सुनेर हरिवंशलाई आनन्द लागेको रहेछ। अनुहार चम्किलो पारेर सुनाए। बिहेको लगन भने अमेरिकास्थित जेठो छोरोको बिदा मिल्नेबित्तिकै जुर्नेछ।
    ‘त्यसपछि अस्ट्रेलियास्थित छोराको पनि बिहे गरिदिएपछि हामी ढुक्क हुन्छौं,’ घरको कौसीमा चियाको कप उठाउँदै हरिवंशले भने, ‘त्यसपछि अझ मोर फ्रि। अझ धेरै रमाइला दिनहरू बाँकी छन्। तपाईंहरूले अझ बढी सँगसँगै हिँडेको देख्नुहुनेछ।’
    यो उदाहरणीय जोडीसँग केही घन्टाको रमाइलो भेटघाटपछि हामी विदा भयौं।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij