आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालको इन्टरनेटमा भारतको एकाधिकार तोडियो

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • काठमाडाैँ  ।नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ, अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।

    नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुलमार्गमा जोड्न सम्झौता भएको हो । सम्झौताअनुसार चाइना टेलिकमले चीन हुँदै विश्वबजारको स्थल दूरसञ्चार नेटवर्कमा जोडिन नेपाल टेलिकमलाई आइपी सर्भिस उपलब्ध गराउनेछ ।

    हालसम्म भारतको बाटो भएर मात्रै इन्टरनेट
    विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम रहेका छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय अबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ । चीनसँग भएको उक्त सम्झौतासँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिन सक्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

    ‘यसअघि भारतीय मार्गमा मात्रै सीमित इन्टरनेट आबद्धता अब चिनियाँमार्गबाट समेत सम्भव भएको छ,’ उनले भनिन्, ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच भएको सम्झौता मुलुककै लागि महत्वपूर्ण रहेको छ ।’

    यसरी भयो सम्झौता
    संसदीय समिति तथा नेपाल सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएका थिए ।

    सोहीअनुसार करिब चार महिनाअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । तर, आइपी सर्भिस आदानप्रदानका लागि औपचारिक सम्झौता भने हुन सकेको थिएन । हङकङमा मंगलबार भएको उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबलका कार्यकारी उपाध्यक्ष ओउ यानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले चाइना टेलिकमबाट भरपर्दो सेवाको अपेक्षा गर्दै सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबका रूपमा स्थापित गर्न सकिने बताए ।

    के भन्छ चीन ?
    चीनले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । टेलिकमसँगको सम्झौताका अवसरमा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग
    यसअघि भारतबाट मात्रै जोडिएको नेपाली दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थलगत आबद्धता चीनबाट समेत जोडिएको हो । चीनसँग स्थलमार्ग हुँदै दूरसञ्चार सञ्जाल जोडिएपछि अब सो क्षेत्रबाट पनि अन्य देशका सेवाप्रदायकसँग जोडिन सहज हुने कम्पनीले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक ‘अन्तर्राष्ट्रिय आबद्धता’का लागि यो महत्वपूर्ण विकल्प भएको वैद्यले बताइन् ।

    सेवाग्राहीलाई के फाइदा हुन्छ ?

    चीन हुँदै जोडिएको दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धता तुलनात्मक रूपमा स्तरीय र सस्तो हुन सक्छ । अहिले नेपालको नेटवर्क भारतको चेन्नई, सिंगापुर हुँदै समुद्रीमार्गबाट अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको छ । यो दूरीका हिसाबले अत्यन्तै लामो छ । चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङमा जोडिन्छ । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij