प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३
चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा आज अस्पतालमा झडप भएको छ ।
उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।
सो विषयमा यहाँ आज भएको झडपका क्रममा तीन प्रहरी र एक जना बिरामी कुरुवासहित चार जना घाइते भएका छन् । भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार झडपका क्रममा भीडको लठ्ठी र ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका हुन् ।
आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालका चार वटा सिसामा तोडफोडसमेत गरेका छन् ।
सो क्रममा प्रहरीले पाँच जना आन्दोलनकर्तालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । पीडितको मागको विषयमा छलफल र वार्ता हुँदै गर्दा घटना बढेपछि अस्पताल परिसरमा विगत तीन दिनदेखि प्रहरी परिचालन गरिएको छ ।
यसैबीच चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गरी जटिल रोग एक्लामेसिया (छारेरोग जस्तै) लागेकाले अस्पतालको प्रयासका बाबजुद उपचार सफल नभएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij