प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
काठमाडौं । बुद्ध एयरले चार वर्ष अगाडि पोखराबाट भारतको दिल्ली र लखनउसम्म सीधा उडान तयारी थालेको थियो । पोखराबाट दिल्ली जान एक घन्टा ४५ मिनेट लाग्ने भए पनि फर्कंदा भैरहवाबाट सीधै प्रवेश गर्न नपाउँदा ३३ मिनेट समय बढी लाग्ने भयो ।
नेपाल प्रवेश गर्ने एउटै मात्र बिन्दु सिमरा हुँदै आउनुपर्ने हुँदा उडान दूरी र खर्च दुवैले समस्या भयो । पोखरा आउन भारतको अप्पी हुँदै भैरहवा आउने हवाई रुट नपाएपछि खर्च धान्न नसक्ने निष्कर्ष निकाल्दै बुद्धले पोखराबाट भारतको दिल्ली उडानको समय तालिका नै तय गरेर पनि उडान कार्यक्रम रद्द गर्यो । भारत र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पोखरा जानआउन अहिले पनि सिमराबाट काठमाडौं हुँदै पोखराको हवाई रुट प्रयोग गर्नुपर्ने वाध्यता छ ।
भैरहवामा विमानस्थल निर्माणको २६ प्रतिशत काम सकिएको छ भने पोखारामा पनि धमाधम निर्माण प्रक्रिया अगाडि बढको छ । तर, यी दुवै विमानस्थलका लागि अत्यावश्यक जनकपुर, भैरहवा र नेपालगन्जको हवाई रुटका विषयमा भने अहिलेसम्म कुनै टुंगो लागेको छैन ।
यी दुवै विमानस्थलको रूट तय नै नभइ निर्माण भइरहेको छ । यसले गर्दा विमानस्थल निर्माणपछि सञ्चालन गर्न समस्या हुनसक्ने एक निजी वायुसेवा कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि मण्डलले गत साता हवाई रुटका विषयमा भारतसँग दुई दिन छलफल गरेको थियो । यो बैठकपछि भारतले नेपाललाई महेन्द्रनगर र जनकपुरको हवाई रुट दिने सहमति जनाएको छ । नेपालले मागेको भैरहवा र नेपालगन्ज रुटका विषयमा भने छलफल नै हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
‘भैरहवाबाट प्रवेश बिन्दु माग्दा गौतमबुद्ध विमानस्थल नजिक सीमापारी गोरखपुर आर्मी ब्यारेक र नेपालगन्ज नजिक बरौनी आर्मी क्याम्प रहेको भन्दै भारतले नेपालका हवाई रुटको अनुमति दिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘भारतीय सेनाको क्याम्प छ । भातरतले आफ्नै लागि त ५÷७ नटिकल माइल टाढाबाट उडान गर्छ । नेपाललको लागि हवाई रुट दिने विषयमा सोच्नै नसक्ने जवाफ आयो ।’
पर्यटन मन्त्रालयका अनुसार जबसम्म भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट पाइँदैन तबसम्म भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन सहज हुँदैन । विमानस्थल बनाएर मात्रै हुँदैन सहज सञ्चालन गर्ने हवाई रुट पनि हुनुपर्ने प्राधिकरणकै अधिकारीको बुझाइ छ । हाल नेपालका लागि सिमराको बाटो भएर मात्रै दुईतर्फी हवाई रुट प्रयोग भइरहेको छ । प्राधिकरणका अनुसार निर्माणाधीन अन्तर्राष्ट्रिय विमास्थल निश्चित भइसकेका छन् तर हवाई रुट भने अनिश्चित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij