प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
खोटाङ । रक्त अर्बुदरोगबाट पीडित आमाको उपचारका क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ ।
खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारका क्रममा गत साउन ३० गते मृत्युु भएपछि उनका छोरा तेन्जिङको पालनपोषण तथा शिक्षादीक्षाका लागि रु पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको हो ।
खोटाङ बास्पानी घर भई हाल बेलायतमा रहेकी जयन्ती राईले त्यहाँ सङ्कलन गरेर पठाएको पाँच लाख तीन हजार आठ सय ४७ र बास्पानी घर भई हाल काठमाडौंँ बस्ने रन्जना राईले सङ्कलन गरेको को ४३ हजार आठ सय ६० गरी, पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको जयन्तीका दाजु तथा नेकपा (एमाले) का नेता राजन राईले बताए ।
खार्मी–५ मा जन्मिएकी कविता दुई वर्षअघि खार्मी–८ का अशोक तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । विवाहअघि कक्षा १० पढ्दादेखि नै कवितालाई अर्बुद देखिएको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जान रोकिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij