प्रकाशित मिति : सोमवार, पुस २५, २०७३
सप्तरी । ५७ वर्षदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल निर्माण कार्य तिव्र पारिएको छ । २०१६ सालमा उद्घाटन पश्चात अलपत्र अवस्थामा रहेको विमानस्थल निर्माण कार्य तिव्र पारिएको हो । 
कान्छाराम, रमण र देव एण्ड शायर जेभीले विमान स्थल निर्माणको ठेक्का लिएपछि गत मंसिरदेखि निर्माण कार्य थालिएको कम्पनीका ईन्जिनियर मणीगोविन्द श्रेष्ठले जानकारी दिए ।
उनले भने–‘भ्याट बाहेक २६ करोडमा कम्पनीले ठेक्का लिएपछि अहिले माटो र सब बेस निर्माण कार्य शुरु थालिएको हो ।’ यसपछि बेस र पिचिङ्गको कार्य गरिने ईन्जिनियर श्रेष्ठले बताए ।
आगामी मङसिर मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम थालिएपनि जेठभित्रै निर्माण कार्य सम्पन्न हुने उनले दावी समेत गरे । ‘पिचिङ्गका लागि चैत्रदेखि जेठसम्मको समय उपयुक्त हुन्छ’ ईन्जिनियर श्रेष्ठले भने ‘आफुहरु त्यस अवधीभित्रै काम पुरा गर्ने प्रयासमा छौं ।’
एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने उनले बताए ।
विमानस्थलको स्तरोन्नति पश्चात नियमित विमान सेवा शुरु हुने र यसले सप्तरीको विकासमा समेत टेवा पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको भनाई छ । तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij