प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३
“म पहिलो पटक गर्भवती हुँदा १७ वर्षकी थिएँ । त्यतिबेला मैले आफु गर्भवती भएकै थाहा पाईन । धेरै पछि थाहा पाउँदा नियमित गर्भजाँच गराउन सकिन ।” यो भनाई हो सिन्धुली जिल्ला सिर्थौली गाविस वडा नं. ७ कि सर्मिला परियारको ।
सर्मिलाका अनुसार उनी आफु गर्भवती भएको थाहा नपाउँदासम्म नियमित गर्भजाँचको विषयमा आफु अनभिज्ञ नै रहेको बताउँछिन् । उनी भन्छिन्–“मलाई नियमित गर्भजाँच गराउनु पर्छ भन्ने विषयमा कसैले पनि भनेन् । र मलाई पनि थाहा भएन । त्यसैले मैले पहिलो बच्चाको पालामा २ पटक मात्र चेकजाँच गराएँ ।”
सर्मिला अहिले १९ वर्षकी भएकी छन् । १९ वर्षको उमेरमा उनी दुई सन्तानकी आमा पनि भई सकिन् । दोश्रो सन्तानको समयमा उनले नियमित गर्भजाँच गराएको बताउँछिन् । “पहिलो बच्चाको समयमा नियमित गर्भजाँचको गराउनु पर्छ भन्ने यही स्वास्थ केन्द्रकी अनमी मञ्जु न्यौपानेले भनेको हुनाले दोश्रो बच्चाको समयमा मैले नियमित गर्भजाँच गराएर बच्चा जन्माएँ ।” भन्छिन् उनी ।
सर्मिला जस्तै नियमित गर्भजाँचको विषयमा थाहा नभएकी अर्की आमा हुन् सोही गाविस वडा नं. ९ घारिथुन्सिकी धनमाया थारु । १९ वर्षिय धनमाया भन्छिन्–“पहिलो बच्चाको पालामा मलाई नियमित गर्भजाँचको विषयमा केही पनि थहा थिएन । स्वास्थ केन्द्रमा आएर जाँच गराउँदा एक पटकको मात्र समय रहेछ र एक पटक मात्र जाँच गराएँ । तर पछि दोश्रो बच्चाको पालामा नियमित ४ पटकसम्मै जाँच गराएँ ।”
सर्मिला र धनमाया जस्ता नियमित गर्भजाँचको विषयमा थाहा नपाएका थुप्रै किशोरी आमाहरु छन् सिर्थाैलीमा । तर विगतको तुलनामा हिजो आज स्वास्थ सम्बन्धि याहाँका किशोरी आमाहरु धेरै नै सचेत भई सकेको बताउँछन् प्राथामिक स्वास्थ केन्द्र सिर्थाैलीका मेडिकल अफिसर ब्रिज यादव ।
आर्थिक वर्ष ०७२/०७३ सालको तथ्याङ्क अनुसार नियमित गर्भजाँच गराएर प्रसुति सेवा लिने किशोरी आमाहरुको संख्या ३४ थियो भने ०७३/०७४ सालको यो समयसम्म नियमित गर्भजाँच गराएर प्रसुति सेवा लिएका किशोरी आमाहरुको संख्या २० पुगेको छ ।
हामी काहाँ चेकजाँच गराउन आउने किशोरी र उनका परिवारका अन्य सदस्यलाई हामीले सानै उमेरमा आमा बन्नु हुँदैन भनेर सम्झाउँने गर्छाैं र विभिन्न स्वास्थ शिविरहरु पनि चलाउने गर्छौं भन्दै त्यसैको नतिजा स्वरुप माथिको तथ्याङ्कले पनि पुष्टि गरेको बताउँछन् मेडिकल अफिसर ब्रिज यादव ।
उनका अनुसार सिर्थौलीका स्थानीयहरुमा स्वास्थ उपचारको विषयमा चेतना छ तर उनीहरु प्राथमिक उपचार भन्दा परम्परागत उपचार जस्तै धामी झाँक्री र झारफुकमा अझैं पनि बढि विश्वास गर्दछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij