प्रकाशित मिति : सोमवार, माघ ३, २०७३
जनकपुरधाम । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन् ।
सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन् । तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले विद्यालयबाट घर पठाइदिएपछि वाक्कदिक्क भएर छोराछोरी पढाई ठूलो मान्छे बनाउने सपना उनले त्यागेकी छन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
‘मजदुरी गरेरै भए पनि बच्चालाई पढाउँछु भन्ने सोचेकी थिएँ । विद्यालय पठाउन कपीकलम पनि किनिदिएँ’, अनिताले भनिन्, ‘तर विद्यालयमा डोमका बच्चालाई अछूत भनेर हेला गरिने तथा पढ्नै नदिने वातावरण भएपछि छोराछोरी अहिले कबाड बेच्ने र फोहोर सफा गर्ने काममा लागेका छन् ।’ उनी बस्ने मिल्स एरियाको डोम बस्तीमा कोही पनि बालबालिका विद्यालय जाँदैनन् । उनीहरू घरको काम गर्ने वा फोहोरबाट कबाड छानेर बेच्ने गर्छन् ।
संविधानले कुनै व्यक्ति वा समुदायमाथि छुवाछूत गर्नुलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि तराईका डोम समुदायले छुवाछूतकै विभेदका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
विद्यालयमा डोम बालबालिकालाई सँगै बस्न नदिने, केही सोध्दा पनि शिक्षकले नबताउने र अन्य बालबालिकाका अभिभावकले डोम समुदायका बालबालिका पढाए आफ्ना छोराछोरी विद्यालयबाट छुटाउनेसम्मको चेतावनी दिने गरेकाले आफ्ना बालबालिकालाई चाहेर पनि विद्यालय पठाउन गाह्रो भएको रामअधीन सदा डोम बताउँछन् । छुवाछूतकै कारण डोम, हल्खोर, मेस्तर, चमार र दुसाध जातिका बालबालिकालाई विद्यालयमा पढ्न गाह्रो हुने गरेको विनोद मेस्तरले सुनाए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij