प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३
धादिङ । खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस खाल्टेकै पतेनी भन्ने स्थानमा सोमबार साँझ दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो । सामान्य घाइते १० जनाको खाल्टेमै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ । घुम्ती सडक, पुरानो गाडी र रातिको समयमा क्षमताभन्दा धेरै यात्रु राख्नाले दुर्घटना भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij