बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • काठमाडौं । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो । नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ । नियमावली कार्यान्वयनमा आइसकेको खबर आजको नयाँ पत्रिकामा छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन् । ‘अहिले त्रिभुवन विमानस्थलमा रातमा रोकिने जेट एयरवेज नै हो,’ एक अधिकारीले भने, ‘तर, त्यहाँ चालक दलका सदस्यबाहेक अन्य व्यक्ति बाहिरिने गरेको पाइएको छैन ।’ नेपाल सरकारले अहिलेसम्म कुनै पनि वायुसेवालाई एयरमार्सल राख्न अनुमति नदिएको ती अधिकारीको दाबी छ ।

    भारतीय विमान अपहरण काण्डपछि सेकेन्डरी सुरक्षा
    भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन् । विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर तथा ह्यान्डब्याग खानतलासी भने हुँदै आएको विमानस्थल स्रोतको भनाइ छ । २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि विमानस्थलमा सेकेन्डरी सुरक्षा जाँच प्रारम्भ भएको विमानस्थल अधिकारीहरू बताउँछन् ।

    भारतीय जहाजमा एयरमार्सल रहेको खुलासा
    जेट एयरवेजलगायत कतिपय कम्पनीले इन्फ्लाइट सेक्युरिटी अफिसर राख्दै आएका थिए । तर, त्यो सार्वजनिक भएको थिएन । पुस पहिलो साता दिल्लीमा सम्पन्न नेपाल–भारतका अधिकारीहरूको नागरिक उड्डयनसम्बन्धी वार्तामा भारतले जेट एयरवेजमा आउने इनफ्लाइट सेक्युरिटी अफिसरलाई रातको समयमा होटेलमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । त्यसवेलादेखि नै भारतीय जहाजमा एयरमार्सल आउने गरेको पुष्टि भएको थियो । पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार अहिले पनि जेट एयरवेजको कतिपय उडानमा इन्फ्लाइट सेक्युरिटी अफिसर आउँछन् । उनीहरूले आफ्ना हतियार विमानस्थलस्थित सुरक्षा निकायमा बुझाएर अध्यागमन प्रक्रिया पूरा गरी होटेलमा गएर बस्ने गरेका छन् ।

    पालले पनि राख्न पाउँछ एयरमार्सल
    पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार आफ्नो जहाज र यात्रुको सुरक्षाप्रति जोखिम महसुस गरेको अवस्थामा नेपालले पनि इन्फ्लाइट सेक्युरिटी अफिसर राख्न पाउँछ । ‘यसका लागि सम्बन्धित मुलुकको नागरिक उड्डयनसम्बन्धी ऐन–कानुन भने पालना गर्नुपर्छ,’ विकास समितिले बिहीबार गरेको बैठकमा आचार्यले भने, ‘यसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि स्वीकृति दिएको छ ।’ उनका अनुसार एयरमार्सल विमानभित्रै रहनुपर्छ । उनीहरू सादा पोसाकमा हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij