बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कृषि बिमा लक्षित वर्गसम्म पुगेन

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • म्याग्दी । बाबियाचौर–८ रणवाङकी बुद्धिमाया विक पाँच वर्षदेखि दुई रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

    तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएका विकको बाली बिमा गर्ने इच्छा पूरा हुन सकेको छैन । “बाली बिमा गरेमा असिना, खडेरी, रोग किराले सताउँदा क्षतिपूर्ति पाउने सुनेकी छु”– उहाँले भन्नुभयो, “जानकारी नहुँदा बिमा गरेको छैन ।”

    बेनी नगरपालिका– १४ सुर्केमेलामा एक दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भीमबहादुर बानियालाई बालीको बिमा हुन्छ भन्ने जानकारी छैन । मौसमी र बेमौसमी तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाएका बानिया बाली बिमाको प्रक्रिया र फाइदाका बारेमा जानकारी नभएको बताउनुहुन्छ ।

    बेनपा– १ लामगराका कृषक कमल थापाले कृषि बिमाको महत्व बुझेर बिमा गर्न चाहे पनि सो सुविधा पाउनुभएको छैन । “बिमा कम्पनीको कार्यालयमा जाँदा प्रतिनिधि भेटिदैनन्, खेतबारीमा आउदैनन्”– उहाँले भन्नुभयो, “सहज पहुँच नहुँदा कृषि बिमा कार्यक्रमबाट कृषकले सुविधा पाउन सकेका छैनन् ।”

    जिल्लामा तीन वर्षअघि लागू भएको कृषि बिमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । बिमा कम्पनीको बेवास्ता, बिमा प्रतिनिधिको निष्क्रियता, कृषक नै बिमाका बारेमा बेखबर हुनु र सम्बन्धित निकायबीच समन्वयको कमीका कारण बिमा कार्यक्रममा लक्षित वर्गको पहुँच पुग्न सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश कृषकले बिमा गर्ने र क्षतिपूर्ति पाउने प्रक्रियाका बारेमा थाहा पाएका छैनन् ।

    जिल्लामा कृषि बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले विसं २०७१ मा प्रभु इन्सुरेन्स कम्पनीलाई जिम्मेवारी दिएको थियो । सम्झौता गरेको एक वर्षपछि विसं २०७२ मा कार्यालय स्थापना गरेको कम्पनीले अपेक्षाकृत सेवा दिन नसकेको कृषक र सम्बद्ध कार्यालयको गुनासो छ । दुई जना कृषकले रु दुई लाख २० हजार बराबरको तरकारीको बिमा गरेका थिए । यसैगरी एक हजार ५८३ वटा पशुपक्षीको रु १५ करोड ७० लाख बराबरको बिमा भएको थियो ।

    विसं २०७३ भदौ सम्म एक हजार ४५० कुखुरा, ११२ वटा बाख्रा, ११ वटा खच्चर, पाँच – पाँच वटा गाईभँैसीको बिमा भएको थियो । कृषकले रु ४७ लाख १६७ प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान पाएका थिए । कृषक जागरुक र आकर्षित भए पनि अन्य जिल्लाको तुलनामा यहाँ कृषि बिमा अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक मनबहादुर पुन बताउनुहुन्छ ।

    बिमा कम्पनीका प्रतिनिधिको निष्क्रियताका कारण केही महिनादेखि कृषकले बिमा गर्न नपाएको गुनासो बढेको पुनले बताउनुभयो । कृषि बिमाका बारेमा कार्यालयले आयोजना गर्ने तालिम, गोष्ठी, भेटघाटमार्फत कृषकलाई जानकारी गराइँदै आएको छ । खाद्यान्न, फलफूल र तरकारी बाली तथा पशुपक्षीको बिमा गर्नका लागि सरकारले प्रिमियम शुल्कमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

    बिमा गरेको बाली र पशुपक्षीको क्षति भएको अवस्थामा कृषकले ९० प्रतिशत दाबी भुक्तानी पाउने व्यवस्था छ । कृषि बिमा निश्चित अवधिका लागि हुने गर्छ । खेतीबालीको हकमा बाली लगाउनेदेखि नभित्र्याउँदासम्म र पशुचौपायाको एक वर्षसम्मको बिमा हुने गर्छ ।

    बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न बिमा गरेको फार्म खोज्न थालेका छन् । यसअघिका कर्मचारीका कारण समस्या कृषि बिमाले गति लिन नसके पनि अब कृषकको घरदैलोमा पुग्ने तयारी गरेको प्रभु इन्सुरेन्स कम्पनीका प्रतिनिधि जुजुमान श्रेष्ठले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij