प्रकाशित मिति : आइतवार, माघ १६, २०७३
पाँचथर । मेची अञ्चलमा जलविद्युत आयोजना निर्माणको लहर चलेको छ । ती आयोजनाहरुलाई एउटै प्रशारण लाइनमार्फत एकीकृत गर्ने निर्माणाधिन काबेली १३२ केभी प्रशारण लाइन आयोजनाको निर्माण काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।
आगामी २०१७ अप्रिल २३ मा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको काम मुअब्जा विवाद लगातका समस्या समाधान नहुँदा निर्धारित अवधि भन्दा झण्डै १ बर्ष ढिला हुने भएको हो ।
झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटर ट्रान्समिसन लाइन र ४ वटा सवस्टेशन निर्माण सम्पन्न गर्नुपर्नेमा ट्रान्समिसन लाईनमा वनका रुख काट्न तथा प्रभावित स्थानीयलाई मुअब्जा दिने बिषयमा विवाद हुँदा कामले तिव्रता पाउन नसकेको हो ।
ट्रान्समिसन लाइन निर्माणको काम धेरै बाँकी रहेपनि सवस्टेशन निर्माणको काम भने सम्पन्न भइसकेको छ । जसमध्ये ३ वटा सवस्टेशनले कामगर्न थालिसकेका छन् । तर, सवस्टेशनलाई ट्रान्समिसन लाइनबाट जोड्ने कामभने सकिएको छैन् ।
कोरिडोरको निर्माण आर्थिक बर्ष २०६२÷०६३ मा थालिएको थियो । यद्यपी वातावरण, वन, कृषि लगायत क्षेत्रसँगको समन्वय लगायत काममा केही सयम वितेको थियो । २०६७ सालमा परामर्शदातानियुक्त गरी निर्माण अघि बढाइएको आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।
सव स्टेशन चालू
कोरिडोर अन्तर्गत चार सवस्टेश ननिर्माण गरिएका छन्, झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा । दमक सवस्टेशनको ठेक्का मुडभरी एण्ड जोशी कन्स्ट्रसनले पाएको थियो भने बाँकी ३ को एवीवी इन्डिया लिमिटेडले । २५ करोड लागतमा दमक सवस्टेशन सुरुमै निर्माण सम्पन्न भएको थियो ।
बाँकी ३ सवस्टेशन निर्माणको लागत ५५ करोड थियो । गोदक सवस्टेशन गतबर्ष नै निर्माण सम्पन्न भई चालू अवस्थामा छ र गोदक–दमक ट्रान्समिसन लाइन समेत निर्माण भइसकेको छ । फिदिमस्थित थापाटार सवस्टेशन गत साता चार्ज भई काम गर्न थालिसकेको छ भने अमरपुरस्थित सवस्टेशन समेत चार्ज भइसकेको द्विवेदीले वताए ।
फिदिम सवस्टेशन चार्ज नहुँदा हेवाखोला ‘ए’जलविद्युतआयोजना निर्माण सम्पन्न भएपनि १ महिनासम्म प्रशारण लाइनमा जोडिन पाएको थिएन् ।
ट्रान्समिसनलाई फिदिम र सिद्धिथुम्कामा समस्या
९० किलोमिटर लामो ट्रान्समिसन लाइनमा २५८ वटा टावर निर्माण गर्नुपर्नेछ । दमकदेखि गोदकसम्मको ३४ किलोमिटरमा ९५ ओटा टावर निर्माण गतबर्ष नै सम्पन्न भइसकेका थिए । गोदकदेखि अमरपुरसम्म ५६ किलोमिटरमा १६३ वटा टावर निर्माणको काम भइरहेको द्विवेदी वताउँछन् । १६३ मध्येपनि ५९ ओटा टावर बनिसकेको र १०७ वटा फाउण्डेसनको काम अघि बढेको उनको भनाई छ ।
गोदक–अमरपुर ५६ किलोमिटर ट्रान्समिसन लाइनमाजम्मा साढे २ किलोमिटर मात्रै लाइनविस्तार भएको छ ।
ट्रान्समिसन लाइनविस्तारमावनका रुख कटानी र प्रभावित हुने स्थानीयलाई मुआब्जा दिने बिषयमा विवाद मिल्न सकेको छैन् । ग्रामीण भेगका स्थानीयले निजी जग्गामा रुख कटानी गर्न तथा मुआब्जामा धेरै सामान्य रकम माग्छन् । आयोजनालाई स्थानीयको माग पूरा गर्न खासै समस्या नपरेको द्विवेदी वताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट ग्रामीण भेगका स्थानीयलाई मुआब्जा दिईसकिएको छ ।
तर, चर्को मूल्य रहेको पाँचथरको फिदिमबजार तथा इलामको सिद्धिथुम्का गाविसस्थित सिद्धिथुम्का बजारका प्रभावितले मागे अनुसारको मुआब्जा दिन आयोजना सहमत छैन । भएन् । यहि कारण यी ठाँउमा टावर निर्माणको काम हुन नसकेको द्विवेदीले वताए । फिदिममा भने गढी–पल्लोटार रुटनै परिवर्तन गरिएको छ । जोरसाल–पल्लोटार हुँदै चोकमागू जोड्ने नयाँ रुटको निर्माणका लागि प्रकृया अघि बढाइ सकिएको द्विवेदीले वताए । सर्वे भएको पुरानो रुटमा ८ वटा टावर रहेकोमा नयाँ रुटमा १२ ओटा टावर निर्माण गर्नुपर्ने भएको छ । सिद्धिथुम्कामा रहेको समस्या समाधानका लागि पनि जिल्ला प्रशासन कार्यालय इलामले सहजिकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको नेतृत्वको समितिले काम गरिरहेको छ ।
इलाम र पाँचथरका सामुदायिक तथा सरकारी वनका रुख काट्न पनि समस्या भएको छ । यद्यपी पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले वनले कोरिडोरलाई जग्गा नदिएकाले समस्या भएकाले त्यसका लागि समस्या समाधान गर्ने पहल भइरहको आयोजनाले जनाएको छ ।
जोडिदै छन् हाइड्रोहरु
कोरिडोर निर्माणपछि मात्रै इलामको सानीमाइमा २ वटा र पुवाखोलमा निर्माण गरिएका २ जलविद्युतआयोजना र अप्परमाइको एउटा आयोजना कोरिडोरमा जोडिइसकेको द्विवेदीले जानकारी दिएका छन् । ट्रान्समिसन लाइननिर्माण सम्पन्न नभएका कारण पाँचथरमा निर्माण सम्पन्न भएको हेवाखोला ‘ए’भने कोरिडोरमार्फत इलाम–फिदिम ३३ केभिए प्रशारण लाइनमा जोडिएको छ ।
कोरिडोरको ट्रान्समिसन पूरा हुने वित्तिकै १४.९ मेगावाटको हेवा ‘ए’ कोरिडोरमै जोडिनेछ । कोरिडोरको निर्माण ढिलो हुँदा पाँचथरमा निर्माणाधिन ९.५ मेगावाटको हेवाखोला ‘वी’ र २५ मेगावाटको कावेली ‘वीवान’जलविद्युत आयोजनाले निर्माणमा ढिलाई गरिरहेका छन् ।
विश्व बैङ्क, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३ अर्व ५९ करोडको लगानीमा काबेली कोरिडोर निर्माण भइरहेको छ । जसमध्ये ८० प्रतिशत विश्व बैङ्कको ऋण तथा अनुदान छ भने बाँकी नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij