
नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एक कार्यक्रममा, नेपाल टेलिकमले अन्य सेवाप्रदायकको भन्दा धेरै फ्रिक्वेन्सी ओगटेर बसेपनि त्यसको अधिकतम प्रयोग गर्ननसकेको आरोप लगाए।
फ्रिक्वेन्सीजस्तो सिमित स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने भएपनि त्यसो नभएको भन्दै सेवाप्रदायकहरुलाई दबाब दिनेतर्फ झाको संकेत थियो।
हाल नेपाल टेलिकमले ७० मेगाहर्ज फ्रिक्वेन्सी ओगेटेर बसेपनि निजि क्षेत्रको सेवाप्रदायक एनसेलले त्यसको आधा फ्रिक्वेन्सीमा पनि टेलिकमकोभन्दा बढी नाफा कमाईरहेकोतर्फ प्राधिकरणका अधिकरीहरुको कटाक्षेप छ।
तर नेपाल टेलिकमका अधिकारीहरु भने प्राधिकरणको आरोप स्वीकार गर्न तयार छैनन्।
संसारभर टेलिकम सेवामा फ्रिक्वेन्सीको आधारमा नफाको हिसाब नहुने भएकोले त्यसको आधारमा फ्रिक्वेन्सी व्यवस्थापनको मापन गर्नु नै गलत भएको उनीहरुको भनाइ छ।
अन्य सेवाप्रदायकहरुले जिएसएम र त्यसमा पनि सहरकेन्द्रित सेवामात्र संचालन गरेको र त्यसबाट बढी नाफा हुने भएकोले टेलिकमसँग अरुको तुलना हुननसक्ने टेलिकमका एक अधिकारीले जानकारी दिए।
टेलिकमले व्यापारमात्र भन्दा पनि सेवालाई जोड दिएकोले पनि अरु सेवाप्रदायकसँग तुलना हुननसक्ने उनीहरुको भनाइ छ।
‘टेलिकमसँग भएको फ्रिक्वेन्सीमध्ये ३५ मेगाहर्ज सिडिएमएको र वाइम्याक्सको लागिमात्र भएको जुन सेवा नाफाभन्दा पनि नेपालका ग्रामिण क्षेत्रमा सेवा प्रवाहको लागिमात्र चलाइएकोले टेलिकमको नाफा किन भएन? भनेर सोध्नु नै गलत हो’ टेलिकमका एक अधिकारीले भने।
अन्य सेवा प्रदायकभन्दा सस्तोमा सेवा दिइरहेकोले टेलिकमको नफा कम भएको तर नाफा कम हुनेवित्तिकै फ्रिक्वेन्सीको सदुपयोग भएन भन्नु गलत भएको टेलिकमको स्पष्टीकरण छ।
टेलिकमले ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्नको लागि सिडिएमए सेवा दिएको जसको व्यापार सन्तोषजनक नभएपनि त्यो सेवाको रुपमा रहेकाले टेलिकमप्रतिको आरोप निराधार भएको अधिकारीहरुले बताएका छन्।
स्याटेलाइटबाट डाटा डाउनलोड गरेर भएपनि ग्रामिण क्षेत्रमा सेवा दिइरहेको जुन महंगो प्रविधि भएपनि सस्तोमा सेवा दिंदा अपेक्षित नफा टेलिकमको भागमा नपर्नेवित्तिकै फ्रिक्वेन्सीको दुरुपयोग भयो भन्नु गलत भएको टेलिकमका अधिकारीहरुको भनाइ छ।