प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३
काठमाडौं । सरकारले हाल ७० प्रकारका निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । देशका नौ सय ८० स्वास्थ्य संस्थामा अनुगमन गर्दा १८ प्रकारका निःशुल्क औषधि एक प्रतिशत मात्रै रहेको पाइएको खबर आजको नयाँ पत्रिकामा छ ।
नेपाल सरकार र विभिन्न दातृनिकायको सहभागितामा दुई वर्ष लगाएर गरेको अध्ययन–अनुसन्धानले देशभरिका ९९ प्रतिशत स्वास्थ्य संस्थामा १८ प्रकारका निःशुल्क औषधि नपाएको देखिएको हो । नेपाल सरकारले विभिन्न दाताको सहयोगमा पहिलोपटक स्वास्थ्य संस्थाको अध्ययन–अनुगमन गरेको थियो ।
अत्यधिक मात्रामा आवश्यक पर्ने १८ प्रकारका औषधिमा केन्द्रित भएर अनुसन्धान गरिएको तथ्यांक विभागका निर्देशक मुक्तिराम खनालले जानकारी दिए । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले हेल्थ पोस्टमा ३८ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ वटा र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क दिने भनेर घोषणा गरेका थिए ।
स्वास्थ्य क्षेत्र थप जटिल र चुनौतीको घेरामा
मन्त्रालयले सोमबार स्वास्थ्य संस्था सर्वेक्षण २०१५ मा गरेको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र थप जटिल र चुनौतीको घेरामा रहेको जनाएको छ । अनुगमन गरिएका नौ सय ८० स्वास्थ्य संस्थामध्ये अधिकांशमा कुनै न कुनै निःशुल्क औषधिको अभाव रहेको देखिएको छ । ‘पूर्ण रूपमा एक प्रतिशत मात्रै स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइयो । यो स्वास्थ्य क्षेत्रको अति नै दयनीय अवस्था हो । यसले सबैलाई चुनौती थपेको छ,’ खनालले भने । सरकारले बाल स्वास्थ्य, परिवार नियोजन, मातृ स्वास्थ्यः प्रसूति तथा नवजात शिशु स्याहार, एचआइभी एड्स, औलो, नसर्ने रोगहरू, क्षयरोगबारे अध्ययन–अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । संक्रमण भएको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने सबै व्यवस्था भएका स्वास्थ्य संस्थाहरूको समेत अभाव देखिएको निर्देशक खनालले बताए । ‘अध्ययन–अनुगमन गरेका स्वास्थ्य संस्थामध्ये सबै उपकरण भएका संस्था एक प्रतिशत मात्रै देखियो,’ उनले भने ।
प्रतिवेदनले आश्चर्यचकित बनायो : डा. राजेन्द्र पन्त, महानिर्देशक, स्वास्थ्य सेवा विभाग
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले प्रतिवेदनले आश्चर्यचकित बनाएको बताए । ‘दुई वर्षअघिको अनुगमन भएका कारण ७० प्रकारका निःशुल्क औषधिमध्ये १८ प्रकारका औषधिको उपलब्धतामा समस्या देखिएको हो । प्रतिवेदनले सबैलाई सशंकित बनाएको छ । अधिकांश स्वास्थ्य संस्थाका तथ्यांक निराशाजनक छन् ।
आधारभूत सुविधा नै छैनन्
निर्देशक खनालले स्वास्थ्य सुधारका लागि धेरै रकम खर्च गरे पनि नेपालका स्वास्थ्य संस्था भने दयनीय अवस्थामा पुगेको बताए । ‘नेपालका धेरैजसो स्वास्थ्य संस्थामा आधारभूत सेवासुविधाको कमी छ । सरकारले दिएका निःशुल्क औषधि नै छैनन् ।
९९ प्रतिशत स्वास्थ्य संस्थामा पुग्दैनन् यी औषधि
पारासिटामोल, कोर्यामफिनिकोल, आरएचजेट, अल्वेन्डाजोल, जिंक सल्फेट, मेट्रोनिडा जोल, अक्साइटोसिन, ओआरएस, आइरन–फुलिसएसिड कम्माइन नेसन, पोभिडन आयोडिन सोलुसन, भिटामिन ‘ए’, एमोक्स सिलिन, रिन्जर्स ल्याकटेक, सल्बुटामोल, जेन्टा म्याक्सिन, सिप्रोफोलोक्सिन, बेनज्वाइक्स एसिड कम्पाउन्ड ओइन्टमेन्ट, कोट्री मोक्सा जोल ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij