प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
सल्यानको पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन्।
कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ। भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर गाविसका एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीयवासी वीरबहादुर वलीले जानकारी दिए।
“साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ। भालुले गाउँमा आतङ्क मच्चाउन थालेपछि हामीहरु त्रसित छौँ”, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भने।
भालुले गाउँमा आएर मौरीका घारमा पसेर खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले जानकारी दिए। तीन महिनादेखि भालुले आतङ्क फैलाएपछि मानिस मेलापात, जङ्गल जान छाडेको लक्ष्मीपुर–१ का नारायण खत्रीले जानकारी दिए।
“जङ्गलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाई समेत लखेट्न थालेको छ”, खत्रीले भने। भालुले सताउन थालेपछि ५ बजे नै गाउँघर सुनसान हुन थालेको छ। जङ्गलमा खानेकुरा कम हुन थालेपछि भालु गाउँघरमा पस्न थालेको निगाल्चुला–४ का गोविन्द डाँगीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij