बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दुई सिफ्टको सरकारी सेवा व्यावहारिक हुन सकेन

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • काठमाडौं  । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए । उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल थालिएको बताए ।

    तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले १ पुस ०७१ देखि यस्तो सेवा सुरु गरेको थियो । जनताको अत्यधिक भीड लाग्ने कार्यालयबाट सेवा सञ्चालन सुरु गरिएको थियो । वर्तमान सरकारले सो निर्णयलाई खारेजीकै अवस्थामा पुर्‍याएको छ । कोइराला सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सक्रियतामा प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको थियो । यो सेवाको सुरुवात गर्दा तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डित विभिन्न सरकारी कार्यालयमा आफैँ पुगी कर्मचारीको अनुगमन गरेका थिए ।

    कार्यालयमा बिहान ६ बजेदेखि १२ बजेसम्म एउटा सिफ्ट र १२ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टबाट सेवाहरू प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात कार्यालय, राहदानी विभाग, विद्युत् र खानेपानीलगायत कार्यालयमा यो सेवा लागू गरिएको थियो । यी निकायमा अहिले पनि घन्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

    सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनविद् काशीराज दाहालको संयोजकत्वमा रहेको प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको पहिलो प्रतिवेदनमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने निकायको पहिचान गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराई दुई सिफ्टमा सेवा प्रदान गर्ने निर्णय गरिएको थियो ।

    बिहान ६ बजेदेखि नै काममा व्यस्त रहे पनि सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै विशेष व्यवस्था गर्न नसकेकाले उत्प्रेरित हुन नसकेकाले सेवा सञ्चालनमा कठिनाइ आएको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयकी सूचना अधिकारी गोमादेवी चेम्जोङले सम्बन्धित सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गर्दा सेवा सञ्चालनमा विभिन्न समस्या देखिएको बताइन् । कर्मचारी अभाव, प्रोत्साहनको व्यवस्था नभएको, सेवाग्राही नै बिहान ६ बजे नआउने गरेको र सरकारी सेवा प्रदान गर्दाका सहयोगी निकाय सेवामैत्री हुन नसकेकोलगायतका समस्या आएकाले चेम्जोङको भनाइ छ ।

    सामान्य प्रशासनको मूल्यांकन
    सेवाका सबल पक्ष
    १. बढी सेवाग्राही भएको कार्यालय जस्तै– यातायात व्यवस्था कार्यालयको लाइसेन्स वितरण, वैदेशिक रोजगार विभागको भिसा नवीकरण, राहदानी विभागअन्तर्गतको राहदानी वितरण आदिमा दुई सिफ्टको सेवा अत्यन्त प्रभावकारी भएको

    २. विशेषगरी दिउँसोको समयमा कार्यालय वा अन्य काममा व्यस्त हुनेले बिहान तथा साँझ सेवा लिन पाउँदा सरल र सहज सेवामा पहुँच पुगेको महसुस गरेको

    ३. बिहानदेखि कार्यालय सञ्चालन हुँदा दिउँसोको समयमा केही मात्रामा भए पनि सेवाग्राहीको भीड कम भएको

    सेवाका दुर्बल पक्ष
    १ कर्मचारीलाई काम पुग्ने गरी बिहान पर्याप्त सेवाग्राही नआएको
    २.बैंक काउन्टर नखोली सेवा सञ्चालन गर्न समस्या भएको, साँझ राजस्व जम्मा गर्न बैंक काउन्टर नखुलेको
    ३. पूर्णरूपमा सिफ्टिङ प्रणाली लागू गर्न कर्मचारी अपुग भएको
    ४. प्रोत्साहन भत्ताको व्यवस्था नभएको
    ५.कर्मचारीको परिवहनमा कठिनाइ भएको
    ६. महिला कर्मचारीलाई समस्या भएको

    तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भन्छन्–
    प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने र बढी भीड लाग्ने कार्यालयबाट जनताले समयमा सेवा पाउन नसकेको देखेर दुई सिफ्टमा सेवा दिने गरी कार्यक्रम ल्याएको हँु । यो त्यतिखेर अत्यावश्यक थियो । कार्यक्रम आएपछि जनता निकै खुसी पनि भएका थिए । तर, अहिले यो कार्यक्रम निष्क्रिय छ भनेको सुन्दा दुःख लाग्नु स्वाभाविक हो । कार्यक्रमलाई अहिलेको आवश्यकताअनुसार केही परिमार्जन गर्न सकिन्थ्यो । तर, निष्क्रिय नै राखिएकाले जनताले फेरि सहज सेवा पाउन छोडेका छन् । अतः यो कार्यक्रमलाई परिमार्जन गरी पुनः लागू गर्न ढिलाइ गर्नु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij