प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
गोरखा । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् ।
नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् ।
इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गरे । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोक, दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गरे ।
प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना हुँदा प्रहरी तत्काल जान सक्ने अवस्था नरहेको बताए । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उनको आग्रह छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij