प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३
ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको खबर आजको नयाँ पत्रिकामा छ ।
ट्यांकरचालकहरूले १५ बुँदे माग राखेको र पूरा गर्न डेढ महिनादेखि प्रयास गरे पनि सफल नभएपछि हडतालको कार्यक्रम ल्याउनुपरेको जिकिर गरे । उनीहरूले मुख्य रूपमा दुईवटा मुद्दा उठाइरहेका छन् ।
आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा तापक्रम नोक्सानीबापत ५० लिटर चुहावट हुने लक्ष्य निर्धारण गरेको छ । तर, सोभन्दा धेरै बढी तेल चुहावट हुन थालेपछि निगम सञ्चालक समितिले केही समयअघि २० हजार लिटरको ट्यांकरबाट दुई सय लिटरभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवानाबापत असुल्ने नियम बनाएको थियो । चालकले सो नियम खारेज गर्न माग राखेका छन् ।
त्यस्तै, एक व्यक्तिले एउटा ट्यांकर खरिद गरेर पनि चलाउन पाउने प्रावधानलाई हटाएर आयल निगम सञ्चालक समितिले ट्यांकर व्यवसायी हुन कम्तीमा पाँच ट्यांकर हुनुपर्ने प्रावधान बनाएको छ । यस्तो नियमले थोरै व्यवसायीसँग धेरै ट्यांकर हुने र भाडामा लगाउन सजिलो हुने सञ्चालक समितिका एक सदस्यले बताए । तर, ट्यांकरचालकहरूले एउटै ट्यांकर किनेर चलाउन पाउनुपर्ने माग राख्दै आएका छन् । ट्यांकरचालक आफैँले ट्यांकर किनेर व्यवसायी बन्ने प्रचलन पछिल्लो समयमा बढेको छ ।
ढुवानी व्यवसायीको साथ
मुलुकभर इन्धन ढुवानी गर्ने करिब १५ हजार ट्यांकर छन् । ती ट्यांकर चलाउने चालक र सहचालक ढुवानी व्यवसायीले नियुक्त गरेका छन् । निगमसँग इन्धन ओसार्न ट्यांकर भाडामा लगाएका व्यवसायीले चालकबाट ढुवानीमा अवरोध हुँदा टुलुटुलु हेरेर बसेका छन् । उनीहरूले चालकलाई तेल ओसार्नका लागि कडाइ गर्न सकेका छैनन् । इन्धन ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले चालकको माग सरकारसँग भएकाले मौन बस्नुपरेको बताए ।
निगम निरीह बन्दाको प्रतिफल
ट्यांकरचालकले गत शुक्रबार एक दिन ढुवानीमा अवरोध गर्दा काठमाडौं उपत्यकामा अहिलेसम्म इन्धन वितरण सहज भएको छैन । हडतालको हल्लाले उपभोक्ता बढी इन्धन सञ्चित गर्नतर्फ लागेका छन् । अत्यावश्यकीय वस्तुमा सूचीकृत पेट्रोलिमय पदार्थको ढुवानीमा अवरोध गर्ने चालकलाई कारबाही गर्नुको सट्टा निगम भने वार्ताको नाममा आलटाल गर्दै आएको छ ।
आयल निगमका प्रवक्ता भानु खनालले कारबाही गर्ने अधिकार भए पनि बजारमा चरम अभाव हुन नदिन छलफलका माध्यमबाट समस्या समाधान गर्नतिर लागेको बताए । ‘हामीले ढुवानीमा अवरोध गर्नेलाई कारबाही गर्न खोज्दा चालक झन् बढी उत्तेजित हुन सक्छन् र देशैभर इन्धन ढुवानी नगरी बस्न सक्छन्,’ उनले भने, ‘त्यस्तो अवस्था आउन नदिन छलफलका माध्यमबाट निकास खोज्न लागिएको हो ।’
राजनीतिक दलका भ्रातृसंगठन हडतालमा
इन्धन आपूर्ति प्रभावित पार्ने गरी एमाले समर्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हडतालको नेतृत्व लिएको छ । उसलाई अन्य पार्टीनिकट संगठनले साथ दिएका छन् । ‘एमाले मजदुर संगठन जिफन्टका नेताबाटै चालकहरू हडतालमा परिचालन भएका छन्,’ स्रोतले भन्यो ।
बढी इन्धन वितरण गरेको दाबी
निगमले शुक्रबार हडतालका कारण थानकोट डिपोबाट उपत्यकामा इन्धन वितरण नभएपछि शनिबार दुई लाख लिटर पेट्रोल वितरण भएको जनाएको छ । आइतबार आठ लाख लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल वितरण भएको निगमले जनाएको छ । सोमबार पेट्रोल आठ लाख २५ हजार लिटर पेट्रोल वितरण भएको थियो । ‘मंगलबार पेट्रोल आठ लाख ७५ हजार र डिजेल पाँच लाख आठ हजार लिटर वितरण भएको थियो,’ प्रवक्ता खनालले भने, ‘बुधबार पेट्रोल पाँच लाख १५ हजार र डिजेल पाँच लाख ९४ हजार लिटर वितरण भएको छ ।’ सामान्य अवधिमा पेट्रोल चार लाख लिटर र डिजेल पाँच लाख लिटर खपत हुने गर्छ ।
आज वार्ता, एक महिना कुर्न आग्रह गरिने
ट्यांकरचालक र ढुवानी व्यवसायीसँग आज (बिहीबार) आयल निगमले छलफल गर्दै छ । चालकले १५ फागुनसम्म माग पूरा नभए हडताल गर्ने चेतावनी दिएका छन् । आवश्यक अध्ययन गरेर उनीहरूको माग सम्बोधन गर्न एक महिना लाग्ने र सो अवधिसम्म ढुवानीमा अवरोध नगर्न आग्रह गरिने प्रवक्ता खनालले बताए । ‘विनियमावली सञ्चालक समितिले संशोधन गरेको हो, त्यसैले चालकको मागअनुसार आवश्यक संशोधन गर्न पुनः सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ,’ खनालले भने, ‘त्यसका लागि केही समय लाग्ने भएकाले चालक र ढुवानी व्यवसायीलाई एक महिनासम्म अवरोधका कार्यक्रम नराख्न अनुरोध गर्दै छौँ ।’
ट्यांकर संख्यामा निगम लचिलो
चालकहरूले एक व्यक्तिले एक ट्यांकर किनेर चलाउन पाउनुपर्ने राखेपछि निगम व्यवस्थापनले एउटा व्यक्तिसँग कम्तीमा तीनवटा ट्यांकर हुनुपर्ने व्यवस्था राख्ने तयारी गरेको छ । चालकले समर्थन जनाए सञ्चालक समितिमा निगम व्यवस्थापनले उक्त प्रस्ताव लैजाने तयारी गरेको छ । सञ्चालक समितिले व्यक्तिपिच्छे ट्यांकर हुँदा व्यवसायी धेरै भएको र काम गर्न अप्ठेरो भएको भन्दै थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिन सजिलो हुने गरी विनियमावली संशोधन गरेको थियो ।
‘इन्धन ठग्नेलाई छाड्न मिल्दैन’
नेपाल आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा दुई सय लिटर वा सोभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर बढी जरिवाना तिराउने विनियमावली बनाएको छ । तेल चोरी नियन्त्रणका लागि कडा विनियमावली बनाइएको आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले बताए ।
ट्यांकरचालकले सो नियम हटाउनुपर्ने माग राख्दै हडतालको चेतावनी दिएका छन् । श्रेष्ठले तेल ठग्न पाउने माग राख्दै हडतालको चेतावनी आएको बताउँदै नियम परिवर्तन नहुने बताए । उनले तेल चोरीमा संलग्न हुनेलाई छाड्न नसकिने बताए । ‘तेल चोरेर खान पल्केकालाई छाडिन्न,’ उनले भने । उनले हडतालै गरेर इन्धनमा ढुवानी गरे भारतबाट ट्यांकर ल्याएर भए पनि आपूर्ति गर्ने चेतावनी दिए । ‘भारतका ट्यांकरबाट तेल ओसारेर भए पनि देशभर आपूर्ति गरिन्छ, तर तेल चोर्न पाऊँ भन्नेसँग कमजोर भएर प्रस्तुत हुने कुरा आउँदैन,’ उनले भने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij