प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
काठमाडौ । आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरु आज देशभरका शिवालयमा पुगेर शिवको पुजा आरधना गरि धुमधामका साथ महाशिवरात्री पर्व मनाउदै छन् ।
बिशेषगरी काठमाडौको पशुपतिनाथ, खोटाङको हलेसी लगायतका स्थानमा शिवको दर्शन तथा मेला भर्नेहरुको घूइँचो छ ।
आज भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने चलन पनि छ । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
यसैवीच पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालुहरु काठमाडौं आएका छन् ।
भारतबाट आएका साधुसन्त तथा जोगीहरूका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ ।
तीन बजेदेखि पशुपतिमा लाइन
महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
राती १२ बजेबाट नै भक्तजनहरू दर्शनका लागि लाईनमा बसेका थिए । सर्वसाधारणको दर्शनका लागि आज बिहान साढे ३ बजेदेखि पशुपतिका चारढोकामध्ये उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनका अनुसार उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न सार्वसाधारणको लाईन उत्तरतर्फ चाबहिल, गौरिघाट र दक्षिणतर्फ तिलगंगासमम्म पुगेको छ । यो वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । पशुपतिको पूर्व ढोका भने साँढे ७ बजेमात्र खुला गरिएको छ ।
सदस्यसचिव टण्डनका अनुसार २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिने व्यवस्था मिलाएपनि दशनार्थीले भने घण्टौ कुर्नुपरेको जनाएका छन् ।
६ हजार प्रहरी परिचालन
महाशिवरात्रिलाई व्यवस्थित गर्न शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपति आउने नांगा बाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । यसवर्ष कति साधुसन्त आएका छन् भन्ने कोषले स्पश्ट पारेको छैन ।
१३ लाख मानिस आउने
यस बर्षको शिवरात्री पर्व व्यवस्थित बनाउन पशुपछि क्षेत्र विकास कोषले व्यवस्थापन पक्षलाई चुस्त र दुरुस्त बनाएको दावी गरेको छ । शिवरात्रीका दिन लाइन बसेको दुई घण्टामै दर्शन गरिसक्नेगरी व्यवस्था मिलाएको कोषले जनाएको छ । यसवर्ष करिव ६ लाखले पशुपतिमा दर्शन गर्ने र मेलामा करिव १३ लाख मानिसहरु आउने बताइएको छ ।
दर्शनका लागि चार बाटा
पशुपति क्षेत्र बिकास कोषले यसवर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शन गर्न सर्वसाधारणका लागि सहज बनाउन चारवटा बाटाको प्रवन्ध मिलाएको छ ।
कोषले बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट एक रुट तय गरेको छ ।
त्यस्तै एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट अर्को रुट तय गरेको छ । जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ । दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
कमाण्ड पोष्टसहितको सञ्चार
दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको छ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।
कहाँ कहाँ पार्किङस्थल
महाशिवरात्रिका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा पासवाहक र सरकारी गाडी पार्किङको व्यवसथा मिलाइएको छ । त्यस्तै सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइएको छ ।
शिविर, पानी र चन्दन
मेलामा ठाउठाउमा स्वास्थ्य शिविर राखिने छ भने पानीको व्यवस्था पनि गरिएको छ । पशुपति आसपासमा लाइन मिलाउन प्रयाप्त स्वयम्सेवक परिचालन गरिएको छ । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था गरिएको छ भने बाहिरतर्फ सुरक्षाकर्मीका साथै सवयंसेवकहरु खटिएका छन् । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गर्ने व्यवस्था मिलाइको छ ।
ट्राफिक व्यवस्थापन
ट्राफिक प्रहरीका अनुसार गौशाला क्षेत्र हुँदै चल्ने सवारीका लागि बिभिन्न डाइभर्सनको व्यवस्था गरिएको छ । गौशालातर्फ आउँने सवारीलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवी मोड, सिफल चौर, गौरीघाट, तिलगंगा र चुच्चेपाटीबाट डाईभर्सन गरिने छ । त्यस्तै तिनकुनेबाट र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेमै रोकिएको छ । सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
गाँजाको व्यापार
यस वर्ष विगतका बर्षमा जस्तो शिवरात्रीमा पशुपति क्षेत्र आसपासमा गाँजा तान्ने र व्यापार गर्नेहरु कम देखिएका छन् ।
बनकाली, गुहेश्वरी, गौरीकुण्डलगायतका स्थानमा बसेको साधुहरुले विगतमा गाँजाको राम्रो व्यपार गर्ने गरेपनि यसवर्ष भने ति क्षेत्रहरुमा प्रहरीको बाक्लो उपस्थितिका कारण गाँजा व्यापार र सेवन गर्नेहरुको सख्या नगन्य मात्र भएको खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij